
नारायण शर्मा, नवलपरासी, २२ असाेज । पूर्वी नवलपरासीको दुर्गम क्षेत्र धौवादी फलामखानी नजिकै रहेको पेलेगा डाँडाको घाँघी भीरमा केही दिनदेखि पुत्ताइरहेको धुवाँको मुस्लो घट्दै गएको छ।
स्थानिय वडा अध्यक्ष छामबहादुर सोमैका अनुसार केही दिनअघिसम्म बाक्लो रूपमा निस्किएको धुवाँ अहिले निकै कम भएको छ। “पहिलाको जस्तो धुवाँ छैन, हेर्न जाने मान्छे पनि घटेका छन्,” वडा अध्यक्ष सोमैले भने, “धुवाँ हराउँदै गएको जस्तो देखिन्छ।”
धुवाँको वस्तुस्थिति परीक्षणका लागि खानी तथा भूगर्भ विभागबाट खटिएका भूगर्भविद् (विज्ञ) प्रकाश लुइँटेलका अनुसार धुवाँ निकाल्ने तत्त्व (भित्रको सल्किने पदार्थ) बल्दै जाने र सकिँदै जाने क्रममा रहेकाले धुवाँ कम हुँदै गएको हो।
“करिब तीन हप्ताअघि हामीले त्यहाँबाट ल्याएको पानी र चट्टानको परीक्षण गरी रिपोर्ट निकालेका छौँ,” भूगर्भविद् लुइँटेलले भने, “त्यहाँको धुवाँमा सल्फर डाइअक्साइड, कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइडको मिश्रण देखिएको छ।”
उक्त क्षेत्रमा कालो चट्टान रहेको र त्यसको अलि पर धौवादी फलामखानी रहेको पहाड छ। सो स्थानमा माटो मिसिएको कमसल खालको कोइला (खराब कोइला) रहेको पाइएको छ। “राम्रो कोइला भएको भए आगो नै बल्थ्यो, तर कमसल कोइलामा अक्सिजन मिसिएर तापक्रम बढेपछि धुवाँ निस्किएको हो,” लुइँटेलले स्पष्ट पारे, “यस्तो चट्टान भएको पहाडमा यसरी धुवाँ निस्किनु सामान्य प्रक्रिया हो।”
परीक्षणका क्रममा त्यहाँको चट्टानमा फलाम र सल्फरको मिश्रण (पाइराइट) भेटिएको छ भने पानीको रिपोर्टमा पनि फलामको मात्रा पाइएको छ। धुवाँ निस्किएको नजिकै पहिरो गएको र त्यहाँबाट अक्सिजन भित्र छिरेकाले केही समय बाक्लो धुवाँ पुत्ताएको विज्ञहरूको भनाइ छ। अक्सिजन मिसिएर भित्रपट्टि सल्किएको र त्यो डढ्ने क्रम सकिँदै जाँदा धुवाँ पनि कम हुँदै गएको हो।
धुवाँ निस्किएको जानकारी पाएपछि धौवादी फलामखानी कम्पनी लिमिटेडले प्रकाश लुइँटेलसहित ४ जना विज्ञहरूको टोली खटाएर करिब तीन हप्ताअघि पेलेगा गाउँ पुगी अनुसन्धान गरेको थियो।
विज्ञ टोलीले अनुसन्धानको सम्पूर्ण रिपोर्ट तयार पारिसकेको छ। “धुवाँ निस्किएको स्थान नजिक नजाने र त्यहाँ वरपरको पानी नपिउने हो भने अरू कुनै खतरा देखिँदैन,” लुइँटेलले भने, “धुवाँ पुत्ताउने रसायन सकिँदै गएकाले डराउनुपर्ने अवस्था छैन।”
सुरक्षाका लागि धुवाँ निस्किएको स्थान वरिपरि तारबार गर्ने, मानिस तथा जीवजन्तुलाई जान नदिने व्यवस्था मिलाएमा पूर्ण सुरक्षित भइने जानकारी भूगर्भविद् लुइँटेलले दिएका छन्।























