पोखरा, २२ असाेज । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले यस वर्षको बडादसैँको अवसरमा आयोजना गर्न लागेको ‘विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८३’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समितिले पोखरामा पत्रकार भेटघाट (पत्रकार सम्मेलन) को आयोजना गर्दै महोत्सवबारे विस्तृत जानकारी गराएको हो।

वि.सं. २०६४ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव विगत दुई वर्ष (वि.सं. २०८१ मा राष्ट्रिय शोक र २०८२ मा विषम परिस्थितिका कारण) शोभायात्रा स्थगित भएकोमा यस वर्ष भने भव्य रूपमा आयोजना गर्न लागिएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले जानकारी दिए।

महोत्सवका मुख्य आकर्षण र कार्यक्रमहरू:

  • नवदुर्गा शोभायात्रा (घटस्थापना): घटस्थापनाका दिन बिहान ७:०० बजे विन्ध्यवासिनी पार्कबाट सुरु भई मोहरियाटोल, भैरवटोल, भिमसेनटोल, नालामुख, तेर्सापट्टी, पालेखीचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल, नालामुख र भैरवटोल हुँदै विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा पुगी मध्याह्न १२:०० बजे समापन हुनेछ।
  • श्रीमद्देवी भागवत ज्ञान महायज्ञ: घटस्थापनादेखि महानवमीसम्म मन्दिर परिसरमा कथा प्रवचन, भजन कीर्तन तथा महाआरती आयोजना गरिनेछ। मध्याह्न १२:०० देखि २:०० बजेसम्म कथा प्रवचन, २:०० देखि ४:०० बजेसम्म भजन कीर्तन तथा साझ ६:०० बजे महाआरती हुनेछ।
  • वाचक र उप-वाचक: महायज्ञमा गणेश पर्वत पौडेलको कथा वाचन र स्वामी निभयानन्द गुरुज्युको उप-वाचन रहनेछ।
  • दर्शनको समय: विजयादशमीका दिन मन्दिरमा नित्य पूजा पश्चात् बिहान ४:०० बजेदेखि नै भक्तजनहरूका लागि दर्शन खुला गरिनेछ।

धार्मिक पर्यटन र सांस्कृतिक संरक्षणमा जोड

समितिले विन्ध्यवासिनी मन्दिरलाई पोखराको धार्मिक पर्यटनको मुख्य केन्द्रका रूपमा विकास गर्दै युवा तथा बालबालिकालाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोड्ने उद्देश्य राखेको छ। मन्दिर परिसरमा गुरुकुल विद्याश्रम, प्राकृतिक चिकित्सा केन्द्र, ज्येष्ठ नागरिक मिलन केन्द्र र अशक्त-अपाङ्गता भएका भक्तजनका लागि लिफ्ट सेवासमेत सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

महोत्सवलाई सभ्य, भव्य र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षा, यातायात, स्वास्थ्य, खानेपानी र सरसफाइको उचित व्यवस्था मिलाइएको समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0