पाेखरा, ११ भदाै । “परम्पराको सम्मान, सभ्य समाजको पहिचान” भन्ने मूल नाराका साथ पोखराको लामाचौर चोकमा आगामी भाद्र २० गते शनिबार २७औँ जिल्ला स्तरीय तायाः मचा नृत्य प्रतियोगिता २०८३ आयोजना हुने भएको छ। नेवाः खल कास्कीको आह्वान तथा लामाचौर नेवाः खल गुठीको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो।
पत्रकार भेटघाट कार्यक्रममार्फत मूल समारोह समितिले दिएको जानकारी अनुसार प्रतियोगितामा कास्की जिल्लाभरका नेवाः समुदायका कचाः खलः (समूह) र तायाः मचा समितिहरू गरी करिब ३८ टोलीको सहभागिता रहनेछ।
नेपालभरिमै कास्की जिल्लामा मात्रै प्रतिस्पर्धात्मक रूपमा आयोजना हुँदै आएको यस नृत्यलाई सांस्कृतिक धरोहरका रूपमा लिइन्छ। २७ वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वका अवसरमा आयोजना गरिने यो नृत्यले सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको आयोजकको भनाइ छ।
मुख्य विशेषताहरू:
- आयोजना मिति र स्थान: २०८३ भाद्र २० गते शनिबार, लामाचौर चोक, पोखरा।
- अनुमानित बजेट: एक दिने यस कार्यक्रमका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
- सहयोगी निकाय: पोखरा महानगरपालिका, वडा कार्यालयहरू, प्रदेश सरकार, स्थानीय सङ्घ-संस्था, उद्योगी-व्यवसायी तथा व्यक्तिगत दाताहरू।
- पुरस्कार तथा प्रोत्साहन: पोखरा-३ तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठको परिवारले आफ्ना स्वर्गीय माता-पिता बालकुमारी श्रेष्ठ र हेमप्रसाद श्रेष्ठको स्मृतिमा प्रतियोगिताको पुरस्कार तथा सहभागी टोलीहरूका लागि प्रोत्साहन रकम प्रायोजन गरेका छन्।
लामाचौर मिसाः पुचः र लामाचौर ल्याम्ह पुचःको सह-आयोजनामा हुने यस कार्यक्रमले कला-संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ।
मूल समारोह समितिका संयोजक सुशिल कुमार श्रेष्ठ र नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले सम्पूर्ण जिल्लावासी तथा सञ्चारकर्मीहरूलाई कार्यक्रममा गरिमामय उपस्थिति र यसकाे प्रवर्धनमा सघाउन अनुराेध गर्नुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?