पोखरा (कास्की), ६ भदौ। पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण मादी गाउँपालिका-१ पदुखोला क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

मादी-१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि आज बिहान खिलाङ र पार्चेबीचको पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने बाटो बन्द भएको जानकारी दिनुभयो । मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ढलान क्षति भएको उहाँले बताउनुभयो ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सरोकार भएका निकायसँग आवश्यक समन्वय भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । “सडक खुलाउन आवश्यक पर्ने उपकरणका लागि यहाँको हाइड्रोपावरसँग समन्वय गरिरहेका छौँ तर अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन”, उहाँले भन्नुभयो, “अब पोखराबाट विज्ञ प्राविधिक बोलाएर आज दिनभरिमा पहिरो पन्छाउनेछौँ ।”

सडक खुलाउन केही समय लाग्न सक्ने भएकाले सिक्लेस जाने पर्यटकलाई आइतबारसम्म यात्राको योजना नबनाउन वडाध्यक्ष गुरुङले आग्रह गर्नुभयो । “बाटो खुलाउन आइतबारसम्म लाग्न पनि सक्छ । त्यसैले सिक्लेस घुम्न आउने योजना बनाउनुभएका पर्यटकलाई आइतबारसम्म रोकिन आग्रह गर्दछौँ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0