
पोखरा, ३१ साउन । पोखराको नयाँगाउँस्थित सेन्ट मेरीज् स्कुलमा आइतबार हजुरबुबा र हजुरआमासँग कुराकानी तथा अनुभव साटासाट कार्यक्रम सम्पन्न भएको छ। ‘मुटु छुने कथाहरू, पुस्तालाई प्रेरणा दिने ज्ञान’ भन्ने मूल नाराका साथ स्कुलको एफएम डब्लु क्लबले (FMW Club) उक्त कार्यक्रम आयोजन गरेको हो।
पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा हजुरबुबा दलबहादुर कुँवरले दियो प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।

बालबालिकाको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका : प्रिन्सिपल सिस्टर जेसी
‘ग्र्याण्डपेरेन्ट्स डे’ (Grandparents’ Day) कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सिस्टर जेसीले हजुरबा-हजुरआमाको निःस्वार्थ माया, त्याग र अनुभवले नै बालबालिकाको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।
कार्यक्रममा उपस्थित अतिथिहरू तथा हजुरबा-हजुरआमाहरूलाई स्वागत गर्दै प्रिन्सिपल सिस्टर जेसीले एउटा मार्मिक कथा प्रस्तुत गर्नुभयो। उहाँले कथाका माध्यमबाट हजुरबा-हजुरआमाले नातिनातिनालाई गर्ने माया कुनै दायित्व वा काम नभई उहाँहरूको स्वभाव नै भएको स्पष्ट पार्नुभयो।
“हजुरबा-हजुरआमा आफ्ना नातिनातिनाको जीवनमा यस्तो विशेष स्थान राख्नुहुन्छ, जुन अरू कसैले लिन सक्दैन,” सिस्टर जेसीले भन्नुभयो, “उहाँहरूको भूमिका केवल माया र स्याहारमा मात्र सीमित हुँदैन, आफ्ना कथा, अनुभव र त्यागबाट जीवनका मूल्य, करुणा र उदारता सिकाउनुहुन्छ।”
प्रविधि र आधुनिकताका बीच पनि हजुरबा-हजुरआमाको उपस्थितिले बालबालिकालाई सुरक्षा, अपनत्व र संस्कार प्रदान गर्ने उल्लेख गर्दै उहाँले हजुरबा-हजुरआमाले गर्ने साना-साना मायाका क्षणहरूले नै बालबालिकाको मनमा जीवनभर रहने अमूल्य सम्झनाहरू बनाउने बताउनुभयो।
विद्यालयका विद्यार्थीहरूले अनुभवी र मायालु अभिभावकहरूबाट जीवनका महत्त्वपूर्ण पाठहरू सिक्न पाएकोमा विद्यालय परिवार भाग्यमानी रहेको बताउँदै प्रिन्सिपल सिस्टर जेसीले सम्पूर्ण हजुरबा-हजुरआमाहरूप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले अग्रजहरूको माया, आशीर्वाद र मुस्कान सधैँ बालबालिकाहरूको जीवनमा रहिरहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो।
विद्यार्थीहरू सिमरन गुरुङ र कृष्मा श्रीस मगरले सञ्चालन गरेको उक्त प्यानल छलफल कार्यक्रम परिचय, प्रश्नोत्तर र अनुभव साटफेर गरी तीन चरणमा विभाजन गरिएको थियो।
कार्यक्रममा पोखरा वृद्धाश्रम (वडा नं. १७) का प्रतिनिधि भीमप्रसाद सुवेदी, सामाजिक अभियन्ता बुद्धिबहादुर थापा, पाका अभिभावकहरू तेजबहादुर गुरुङ, रुद्रबहादुर घले, खड्गबहादुर गुरुङ, पमा पौडेल र कृष्णप्रसाद कोइरालाले आफ्ना पुराना अनुभव र हालको प्रविधियुक्त युगबारे आफ्ना विचार व्यक्त गर्नुभएको थियो।

ज्येष्ठ नागरिकहरूका मुख्य भनाइ र अनुभव:
- तेजबहादुर गुरुङ: “पहिलो पटक विद्यालयको मञ्चमा बोल्न पाउँदा खुसी लागेको छ। उ बेला कपडा र जुत्ताचप्पल थिएनन्, अङ्गार पिसेर कालाे पाेतेकाे पाटीमा सेताे खरिढुङ्गाले लेखिन्थ्यो। अहिले नातिनातिनाले मोबाइल र गुगल सिकाउँछन्। प्रविधिका राम्रा पक्ष र आफ्ना संस्कृति पनि सिक्नुपर्छ।”
- रुद्रबहादुर घले: “पहिले कपी-कलम थिएन, शिक्षाभन्दा घाँस-दाउरा र कृषि मुख्य थियो। पहिले सुविधा नभए पनि समाजमा ‘हामी’ भन्ने सहयोग र समर्पणको भावना थियो। अहिले भौतिक सुविधा भए पनि मानिसहरूमा खुसी हराउँदै गएको छ।”
- खड्गबहादुर गुरुङ: “अहिले प्रविधिको जमाना छ, यसको सही फाइदा उठाउनुपर्छ। पहिले चाडपर्व र तिजमा रोधी बस्ने, यानीमाया गीत गाउने र चौतारीमा कुरा गर्ने चलन थियो। मानिस सम्पन्न भए पनि मनमा शान्ति छैन; घरलाई मन्दिर बनाएर संस्कारयुक्त हुनुपर्छ।”
- बुद्धिबहादुर थापा: “असीमित चाहना र प्रतिस्पर्धाका कारण मानिसको शान्ति हराएको छ। पहिले दुई घण्टा पैदल हिँडेर विद्यालय जाने, घरमा लालटिन बालेर पढ्नुपर्थ्यो। धनले मात्र शान्ति दिँदैन, सामूहिक भावना र नैतिकता आवश्यक छ।”
- पमा पौडेल: “पहिले खेतीपाती र घरव्यवहारमा व्यस्त भइन्थ्यो। अहिलेका बालबालिकाहरूले राम्रो अध्ययन गरेर अनुशासित र असल मानिस बन्नुपर्छ।”
- भीमप्रसाद सुवेदी (वृद्धाश्रम प्रतिनिधि): “ज्येष्ठ नागरिकहरू सम्मान, सत्कार र नातिनातिनाको मीठो बोली चाहन्छन्। हजुरबुबा-हजुरआमाको ज्ञान र सिप बालबालिकामा हस्तान्तरण गर्न यस्ता कार्यक्रमले ठूलो सहयोग पुर्याउँछन्।”
- कृष्णप्रसाद कोइराला: “मानिसले नमरुञ्जेल सिक्छ। प्रविधि र मोबाइल सूचनाका माध्यम हुन्। वर्तमान समयमा शिक्षा र स्वास्थ्यसँगै आत्मसन्तुष्टि सबैभन्दा ठूलो आवश्यकता हो।”
विद्यार्थी एनी गुरुङले हजुरबुबा-हजुरआमासम्बन्धी कविता वाचन तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएकाे उक्त कार्यक्रममा गाउँखाने कथा र मनोरञ्जनात्मक गतिविधिहरू समेत समावेश गरिएको थियो।
कार्यक्रमको अन्त्यमा एफएम डब्लु क्लबकी उपाध्यक्ष एवं विद्यार्थी सानिया शाहीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको शिक्षक सुमन क्षेत्रीले बताउनु भयाे ।



























