
काठमाडौं, २६ साउन। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारका तदर्थवादी निर्णय, महँगी, विद्युत्मा कर वृद्धि र रासायनिक मलको हाहाकारलाई लिएर कडा आपत्ति जनाउँदै तत्काल समाधान गर्न माग गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बी.पी. नगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकले चार बुँदे विशेष निर्णय पारित गर्दै सरकारका नीतिहरूको तीव्र आलोचना गरेको हो।
बैठकले एलपी ग्यास आपूर्तिमा पूर्वतयारी विना १४.२ केजीको सिलिन्डर भर्ने तदर्थवादी निर्णयले बजारमा हाहाकार सिर्जना गरेको निष्कर्ष निकालेको छ।
त्यसैगरी स्वच्छ ऊर्जा (विद्युत्) को खपत बढाउनुको सट्टा कर थपेर निरुत्साहित गरेको, सिजनमा किसानलाई मल उपलब्ध गराउन नसकेको र चौतर्फी महँगीले जनजीवन कष्टकर बनाएको कांग्रेसको ठहर छ।
नेपाली कांग्रेसका प्रमुख निर्णय तथा मागहरू:
- ग्यास आपूर्ति र कुटनीतिक पहल: पूर्वतयारी र भण्डारणको अध्ययन नगरी हचुवाका भरमा गरिएको १४.२ केजी सिलिन्डर वितरणको निर्णय बन्द गर्न र तत्काल कुटनीतिक पहलमार्फत ग्यास आयात दोब्बर बनाई आपूर्ति सहज पार्न माग।
- ऊर्जा नीति र कर छुट: विद्युत् खपतमा लगाइएका सबै प्रकारका अतिरिक्त करहरू तत्काल हटाउन, इन्डक्सन चुलो लगायतका उपकरणमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने दीर्घकालीन ऊर्जा नीति लागू गर्न आग्रह।
- कृषि तथा मल व्यवस्थापन: किसानहरूलाई सिजनमै अनुदानको रासायनिक मल सहज रूपमा उपलब्ध गराउन, कालोबजारी र बिचौलियाको अन्त्य गर्न तथा उत्पादनको उचित समर्थन मूल्य ग्यारेन्टी गर्न माग।
- महँगी र सुशासन: प्रचारबाजी छाडेर दैनिक उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धि रोक्न, बजार अनुगमन तीव्र पार्न र सर्वसाधारण तथा भुइँमान्छेका लागि राहतका ठोस कार्यक्रम ल्याउन सरकारसँग माग।
साउन २४ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन २२ जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नुभएको थियो। बैठक श्रावण २६ गते आज बिहान ११:३० बजे पुनः बस्ने काबा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ।























