
पोखर, १० साउन। पोखरा महानगरपालिकाभित्र पर्ने पर्यटकीय तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण फिर्केखोलाको ‘खोलाघर’ (प्राकृतिक बहाव क्षेत्र) खाली गर्ने अभियान पूर्णता नपाउँदै रोकिएको भन्दै वातावरण संरक्षणका लागि महाअभियान कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नागरिक समाज कास्कीद्वारा सञ्चालित महाअभियानले आज पत्रकार सम्मेलन गर्दै फिर्केखोला करिडोर निर्माण अभियानमा जनप्रतिनिधिहरूकै निरीहता देखिएको आरोप लगाएको छ।
सुरुवाती चरणमा डोजर चलाएर उत्साहका साथ अघि बढाइएको अतिक्रमणविरोधी अभियान केही दिनमै सेलाउँदै स्थगित हुनुले करिडोर अभियान नै असफल हुने खतरा बढेको महाअभियानको ठम्याइ छ।
विभिन्न वडामा हट्न बाँकी रहेका प्रमुख अतिक्रमणहरू:
महाअभियानले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार फिर्केखोलाको बहाव क्षेत्रमा अझै धेरै संरचनाहरू कायमै छन्:
- वडा नं. ४: पर्स्याङको राजमार्ग पुलदेखि सुकुम्बासी टहरा, रिटेनिङ पर्खाल, पूर्वपट्टिको रातोघर, तथा साविक स्काउट कम्पाउन्ड नजिकका पक्की घर र टहराहरू अझै हटाइएका छैनन्।
- वडा नं. ५: रेडियो नेपाल क्षेत्र, रिठेगौँडा, रेडक्रस जोड्ने पुल नजिकका भवनहरू, तथा पोखरा इन्जिनियरिङ कलेज नजिकका ४-५ वटा भवनहरू पूर्ण रूपमा खाली भएका छैनन्।
- वडा नं. ६: बगाले टोलको क्रियापुत्री भवन, सोँपाल तमु समाज, सशस्त्र प्रहरी गण पूर्वपट्टिको मगर समाज घर, बराल समाजघर (व्याडमिन्टन कोर्ट), लिटिल स्टेप स्कुल नजिकका संरचना तथा निलो टहरा कायमै छन्।
- वडा नं. ७: मासबार-रत्नचोक जोड्ने पुल नजिकको करिब १५ फिट लामो पर्खाल, गहतेस्थित संरचना र मालपोत कार्यालय नजिकैको कुखुराघर समेत हटाइएको छैन।
दीर्घकालीन समाधान र माग:
करिब ८ किलोमिटर लम्बाइ रहेको फिर्केखोला फेवातालको गाईघाटमा मिसिने प्राकृतिक जलस्रोत हो। विगत १५ वर्षदेखि सञ्चालित ‘फिर्केखोला बचाउ अभियान’ मार्फत फेवातालदेखि सराङकोटको फेदी अँधेरीकुनासम्म करिडोर, पैदल मार्ग र साइकल लेन निर्माणको परिकल्पना गरिएको थियो।
अव्यवस्थित सहरीकरण, अतिक्रमण र फोहरमैलाका कारण खोलाको अस्तित्व संकटमा परेकाले बिना कुनै भेदभाव र मिलेमतो खोलाघर पूर्ण रूपमा खाली गराई करिडोर निर्माण कार्यलाई निरन्तरता दिन नागरिक समाज कास्कीका संयोजक रामबहादुर पौडेल र प्रवक्ता गोकुलबहादुर कार्कीले सरकार तथा महानगरपालिकासँग जोडदार माग गरेका छन्।
























