Home main with pic राससका वरिष्ठ सम्पादक बस्नेतसहित दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

राससका वरिष्ठ सम्पादक बस्नेतसहित दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

राससका वरिष्ठ सम्पादक बस्नेतसहित दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी, २२ वैशाख । राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार कृष्णमणि बराललाई नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।

आज पोखरामा आयोजित सम्मान अर्पण समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पत्रकारद्वयलाई जनही एक लाख एक हजार १११ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रदेश प्रमुख भट्टले पत्रकारिता सामाजिक उत्तरदायित्वसहितको पेसा भएको बताउनुभयो । पत्रकारिता नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

“पत्रकारिता क्षेत्रले कुनै दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ । पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु”, उहाँले भन्नुभयो । श्रमजीवी पत्रकारको पेसागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरूको सबलीकरणको दिशामा राज्यले उचित ध्यान दिनुपर्ने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।

पत्रकार बस्नेतलाई विसं २०८१ र पत्रकार बराललाई विसं २०८२ को सम्मान प्रदान गरिएको महासङ्घ कास्कीका अध्यक्ष माधब बरालले जानकारी दिनुभयो ।

तनहुँको व्यास नगरपालिका–२ दमौलीमा जन्मिनुभएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । राससमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत उहाँ त्यसअघि राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा काम गर्नुभएको थियो ।

त्यस्तै पोखरा महानगरपालिका–७ नुवारथोकमा जन्मिनुभएका बराल विसं २०५५ देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । बिबीसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत उहाँले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्समा पनि काम गर्नुभएको थियो ।

पत्रकारितामार्फत समाज, राष्ट्र र लोकतन्त्रको सुदृढीकरणमा पुर्याएको योगदानस्वरुप उहाँहरूलाई सम्मान गरिएको हो । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उहाँको परिवारद्वारा उक्त पत्रकारिता सम्मान कोष स्थापना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here