
नेपालगन्ज, २२ वैशाख। बाँकेमा प्रहरीले भन्सार छली गरेर ल्याएका रु आठ लाख ४५ हजार बरावरका विभिन्न समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले फलफूल, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक समान र हार्डवेयरका सामान बरामद गरिएको जानकारी दिनुभयो ।
ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्ज पठाइएको उहाँले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० बाट ती समान बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरी, हतियारसहित श्रव्यदृश्य सामग्री पोष्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ को अजय कुमाल र डुडुवा गाउँपालिका–४ का अनिल खटिकलाई सर्वसाधारणलाई आतङ्कित पर्ने काम गरेको भन्दै उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । सो विषयमा पनि अनुसन्धान जारी छ ।
त्यस्तै, अनुसन्धान प्रक्रियामा रहेका मुद्दा मिलाउने भन्दै प्रतिवादीका परिवारसँग रकम असुली गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले मुद्दा मिलाइदिने बहानामा रकम असुल गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका १२, चप्परगौडी निवासी करिब ४० वर्षीय काशीराम थारूलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक पातलीले थारूलाई विभिन्न मिति र समयमा विविध कसुरमा संलग्न व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रियामा रहेका मुद्दा मिलाइदिने भन्दै प्रतिवादीका परिवारसँग रकम लिएको आरोपमा नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले पक्राउ परेका थारूविरुद्ध ‘आपराधिक लाभ लिन नहुने’ कसुरमा बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको बताउनुभयो ।
त्यसैगरी, प्रहरीले आज दुई जनालाई नेपालगन्जबाट लागू औषधसहित पक्राउ गरेको छ । भारतको बहराइच रुपैडिहा बाबागन्ज बस्ने मोहम्मद हामीद र सोही स्थान बस्ने २२ बी सकिनादेवी पथकरलाई प्रहरीले पक्राउ गरेको हो । केही लागू औषधसहित पक्राउ परेका उनीहरुसँगबाट प्रहरीले दुई थान मोबाइल र युपी ४० बिएच ४७०८ नं को मोटरसाइकल बरामद भएको प्रनाउ पातलीले बताउनुभयो ।



























