
पोखरा २० वैशाख। पोखरा महानगरपालिकाले सार्वजनिक ऐलानी जग्गामा रहेका संरचनाहरू खाली गर्न ३५ दिने सूचना जारी गरेपछि पोखराका भूमिहीन र सुकुम्वासी समुदाय आन्दोलित भएका छन् ।
‘भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति, कास्की’ ले महानगरको यस कदमलाई ‘डोजर आतंक’ को संज्ञा दिँदै सशक्त आन्दोलनको घोषणा गरेको छ ।
विवादको मुख्य कारण पोखरा महानगरपालिका नगर कार्यपालिकाको २०८३ वैशाख ३ गतेको बैठकले महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र ऐलानी जग्गामा बिना अनुमति निर्माण गरिएका संरचनाहरू ३५ दिनभित्र आफैँ खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो । यस निर्णयले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूमा गम्भीर संकट निम्त्याएको संघर्ष समितिको ठहर छ ।
संविधान र सरकारी कार्ययोजनाको प्रश्न संघर्ष समितिले सरकारको आफ्नै १०० दिने कार्यसूचीको ९१ नं. बुँदामा सुकुम्वासी र भूमिहीनको डिजिटल प्रमाणीकरण ६० दिनभित्र सक्नुपर्ने उल्लेख भएको स्मरण गराएको छ । तर, भूमि आयोग र स्थानीय सरकारसँगको समन्वयमा हुनुपर्ने काम नगरी सिधै उठीबास लगाउन खोज्नु संवैधानिक हकको विरुद्ध भएको समितिले बताएको छ ।
“एउटा चराले पनि वासको व्यवस्था गरिरहेको हुन्छ, तर हामी राज्यका भुईं तहका नागरिकलाई वर्षातको मुखमा विना व्यवस्थापन डोजर चलाएर बेघर बनाउन खोज्नु अमानवीय र नागरिकलाई आत्महत्या गर्न बाध्य पार्नु जस्तै हो,” विज्ञप्तिमा भनिएको छ ।
आगामी आन्दोलनका कार्यक्रमहरू महानगरको निर्णयविरुद्ध दबाब सिर्जना गर्न संघर्ष समितिले चरणबद्ध आन्दोलनको तालिका सार्वजनिक गरेको छ:
- २०८३ वैशाख २१ गते (ज्ञापनपत्र बुझाउने): बिहान ११:०० बजे जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि शहिद चोकमा भेला भई प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइनेछ ।
- र्याली र प्रदर्शन: शहिद चोकबाट रत्नचोक, सृजनाचोक र पृथ्वीचोक हुँदै विरोध र्याली निकालिनेछ र पोखरा महानगरपालिकाका प्रमुखलाई समेत ज्ञापनपत्र बुझाइनेछ ।
- कोण सभा: विरोध प्रदर्शनको समापन पृथ्वीचोकमा पुगेर कोण सभाका साथ गरिनेछ ।
- २०८३ वैशाख २३ गते (समीक्षा बैठक): संघर्ष समितिको बैठक बसी आन्दोलनको समीक्षा र आगामी थप कार्यक्रमहरू तय गरिनेछ ।
संघर्ष समितिका संयोजक प्रेम बहादुर गुरुङ र सह-संयोजक रमेश बलकोटीले आफ्ना जायज मागहरू पूरा नभए र जबरजस्ती उठीबास लगाए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनुभएको छ ।

























