
धरान (सुनसरी), २५ फागुन । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ ।
धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहनु भएका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी बन्नुभएको हो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर उहाँ निर्वाचित हुनुभएको थियो ।
सामान्य जीवनशैली, स्पष्ट वक्ता र विकासका लागि श्रमदान अभियानका कारण राई छोटो समयमै चर्चामा आउनुभयो । नगर प्रमुख बनेपछि उहाँले परम्परागत राजनीतिक शैली भन्दा फरक अभ्यास गर्नुभयो । महँगा औपचारिकता भन्दा श्रमदान अभियानलाई प्राथमिकता दिनुभयो । उहाँ आफैं ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर काम गर्नुभयो । धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा उहाँले महिनौँसम्म जनतासँगै श्रमदान गर्नुभयो ।
सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद, नागरिक सहभागितामा आधारित विकास र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीले उहाँलाई समर्थकहरूबीच ‘अभियानबाट उठेको नेता’का रूपमा चिनायो । उहाँको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरू पनि उत्तिकै सक्रिय रहे । समर्थक र आलोचकबीचको बहसले उहाँलाई निरन्तर सार्वजनिक चर्चाको केन्द्रमा राख्ने गरेको छ । राईको सामाजिक र राजनीतिक सक्रियता भने मेयर बन्नुअघि नै सुरु भइसकेको थियो । २०६८ सालतिर धरानमा कर वृद्धि तथा विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उहाँ सक्रिय हुनुहुन्थ्यो । पछि जनसरोकार मञ्चमा आबद्ध हुँदै उहाँले आन्दोलनको नेतृत्व गर्नुभयो ।
धरानको पुरानो खानेपानी समस्यालाई लिएर “पानी दे, पानी दे” भन्ने नारासहितको अभियान चलाउँदा उहाँ स्थानीयस्तरमा चर्चामा आउनु भएको थियो । खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा उहाँ एकपटक पक्राउसमेत पर्नुभयो । केही दिन पछि उहाँ रिहा हुनुभएको थियो । हर्क साम्पाङले अवैध ढुङ्गा गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध गर्नुभयो । मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा संघर्ष समितिमा सह संयोजक भएर आन्दोलन गर्नुभयो ।
त्यसैगरी सीमा अतिक्रमणदेखि स्वास्थ्य सेवा सुधारसम्मका विषयमा आवाज उठाइरहनुभयो । त्यही गतिविधिले उहाँलाई स्थानीय स्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित गरायो । गीत संगीतमा समेत रुचि राख्नुहुने राईले केही बर्ष अगाडि ‘मिसिङ हार्ट’ नामक एल्बमसमेत सार्वजनिक गर्नु भएको थियो । हिजोआज पनि कहिलेकाहीँ गितार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्ने शैलीले पनि उहाँलाई फरक पहिचान दिलाएको छ । सामाजिक सञ्जालमा उहाँ “हर्क साम्पाङ रिभोलुसन” नामबाट चर्चित हुनुहुन्छ ।
नगर प्रमुखकै जिम्मेवारीमा रहँदा उहाँले गत माघ ४ गते पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गर्नुभयो र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुभयो । उहाँले अब सांसदका रुपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागिताको ढाँचालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने दाबी गर्दै आउनुभएको छ । धरानको सडक र खानेपानीको मुहानबाट सुरु भएको राईको यात्रा अब संसद् भवनसम्म पुगेको छ । स्थानीय आन्दोलनबाट उठेको राईको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने जिज्ञासा भने सबैको मनमा देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





















