
पाेखरा, २१ माघ । नेपाली सेनाले राष्ट्रिय सुरक्षा नीति–२०७५ को मर्मअनुसार राष्ट्रिय सेवा दलका स्थानिय स्तरमा समेत विस्तार गर्दै हालको संरचनालाई थप परिस्कृत र सुदृढीकरण गर्दै अनुशासित, राष्ट्रप्रति समर्पित र जिम्मेवार युवा जनशक्ति निर्माण गर्ने दीर्घकालीन रणनीति अनुरूप गण्डकी प्रदेशमा एनसीसी अल्मुनाई एसोसिएसनको कार्यसमिति तथा सल्लाहकार समिति गठन गरेको छ।
नेपाली सेनाको पश्चिम पृतना मुख्यालय, पोखरामा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय सेवा दलबाट एनसीसी तालिम प्राप्त युवाहरूको छनोट गरी गण्डकी प्रदेश एनसीसी अल्मुनाई एसोसिएसनको १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो। यसले तालिमपछि निष्क्रिय हुँदै गएको युवा जनशक्तिलाई पुनः संस्थागत रूपमा राष्ट्रसेवामा जोड्ने स्पष्ट संकेत दिएको छ। त्यसैगरी, पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाको अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।
सल्लाहकार समितिमा डा. दिल बहादुर क्षेत्री, डा. नारायण बराल, डोलराज श्रेष्ठ, मदन के.सी., आनन्दराज मुल्मी तथा अवकाश प्राप्त सहायक रथी लक्ष्मण थापा जस्ता अनुभव र विशेषज्ञता भएका व्यक्तित्वहरूको सकृयताले एसोसिएसनलाई नीतिगत र रणनीतिक रूपमा मजबुत बनाउने अपेक्षा गरिएको छ।
नवगठित समितिको पहिलो बैठकले एनसीसी तालिम प्राप्त युवाशक्तिको परिचालनमा देखिएका संरचनागत कमजोरी र समन्वय अभावको पहिचान गर्दै त्यसको समाधानका लागि स्पष्ट कार्यदिशा तय गर्ने निर्णय गरेको छ। बैठकले संघ, प्रदेश र स्थानीय तहसम्म समभावित नेटवर्क विस्तार, दीर्घकालीन लक्ष्यसहितको कार्ययोजना निर्माण, तथा युवाहरूको सक्रिय र स्वेच्छिक सहभागिता सुनिश्चित गर्ने रणनीति अघि बढाउने विषयमा ठोस छलफल गरेको छ।
यस समितिले विपद् व्यवस्थापन तथा उद्धार कार्य, प्राकृतिक तथा मानवजन्य प्रकोपका बेला प्रशिक्षित स्वयंसेवकको रूपमा NCC युवालाई परिचालन गर्ने, साथै समुदायस्तरमा नयाँ सम्भावित सेवा क्षेत्रहरूको पहिचान र विस्तार गर्ने निर्णयहरू गरेको छ। यसले एनसीसी तालिमलाई केवल तालिममै सीमित नराखी समाज र राष्ट्रको प्रत्यक्ष आवश्यकतासँग जोड्ने प्रयासको रूपमा लिइएको छ।
सोही दिन पश्चिम पृतना मुख्यालयमै आयोजित “नेपाली सेनाको खेलकुद विकासलाई स्तरोन्नति गर्न अपनाउनुपर्ने उपाय” विषयक गोष्ठीको समापन समारोहका अवसरमा नव–नियुक्त सल्लाहकार तथा कार्यसमिति सदस्यहरूलाई नियुक्ति पत्र र परिचयपत्र (आईडी कार्ड) प्रदान गरिएको थियो।
समग्रमा, यस कार्यक्रमले गण्डकी प्रदेशमा राष्ट्रसेवा, अनुशासन, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासमा आधारित युवाशक्ति निर्माणको आधार मजबुत बनाउने, तथा तालिम प्राप्त युवालाई सक्रिय राष्ट्रिय पूँजीको रूपमा उपयोग गर्ने नेपाली सेनाको स्पष्ट दृष्टिकोण प्रतिबिम्बित गरेको विश्लेषकहरूको भनाइ छ।


























