
पाेखरा, २१ माघ । नेपालको खेलकुद क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नीतिगत सुधार, दिगो पूर्वाधार विकास र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्षसहित नेपाली सेनाको पश्चिम पृतना मुख्यालय, पोखरामा एकदिने उच्चस्तरीय गोष्ठी सम्पन्न भएको छ।
नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरमा सोमबार आयोजित “नेपाली सेनाको खेलकुद विकासलाई स्तरोन्नति गर्न अपनाउनुपर्ने उपाय” विषयक गोष्ठीमा सहभागी खेल विज्ञ, खेलकुद संघ–संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूले खेलकुद क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप, कमजोर नीतिगत संरचना र दीर्घकालीन सोचको अभावका कारण नेपाली खेलकुदले अपेक्षित गति लिन नसकेको धारणा व्यक्त गरेका थिए।
गोष्ठी पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूले नेपाली सेनाले हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा दिलाएको योगदान र पदक उपलब्धिमा खेलेको भूमिकाको प्रशंसा गर्दै, अब एसियन खेलकुद हुँदै ओलम्पिकसम्म पदक जित्ने लक्ष्यसहित सेनाको खेलकुद संरचनामा राज्यस्तरबाट थप लगानी र नीतिगत समर्थन आवश्यक रहेको सुझाव दिएका थिए।
गोष्ठीमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य डा. मधुसूदन सुवेदीले “राष्ट्रिय खेलकुद विकासका लागि राखेपका नीति तथा कार्यक्रम” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यसैगरी, नेशनल ओलम्पिक एकेडेमीका अध्यक्ष तेज गुरुङले “ओलम्पिक अभियान, नेपाली खेलकुद र नेपाली सेना” तथा पश्चिम पृतना मुख्यालयका सेनानी हुमान सिंह कुँवरले “नेपाली खेलकुद विकासमा नेपाली सेनाको योगदान र वर्तमान अवस्था” विषयमा प्रस्तुति दिनुभयो।
कार्यक्रमको सञ्चालन नेपाली सेनाको खेलकुद क्षेत्रमा गहिरो ज्ञान र लामो अनुभव भएका, पूर्व फुटबल खेलाडी पश्चिम पृतना मुख्यालयका सेनानी हुमान सिंह कुँवरले गर्नुभएको थियो। खेलकुदका प्राविधिक पक्ष, खेलाडीको मनोविज्ञान र संस्थागत संरचनाबारे स्पष्ट धारणा सहित तथ्यपरक सञ्चालनले गोष्ठीलाई थप व्यवस्थित, जीवन्त र उद्देश्यकेन्द्रित बनाएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा बोल्दै पृतनापति उपरथी भोलानाथ थापाले गोष्ठीबाट प्राप्त सुझाव, सहकार्य र मार्गदर्शनलाई आत्मसात गर्दै आवश्यक नीतिगत विषयहरू सम्बन्धित निकायसम्म पेश गरिने बताउनुभयो।
उहाँले नेपाली सेनाको खेलकुद संरचना राष्ट्रिय खेलकुद उन्नतिको महत्वपूर्ण आधार बनेको उल्लेख गर्दै, यसको सुदृढीकरणमार्फत समग्र नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो।
छलफल कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ, पूर्व अध्यक्ष खड्गबहादुर रानाभाट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा प्रशिक्षक विद्या मर्सानी, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारी लगायतले खेलकुद क्षेत्रमा देखिएका नीतिगत कमजोरी तत्काल सुधार गर्नुपर्नेमा जोड दिएका थिए।
सहभागीहरूले प्रतिभावान खेलाडी हुँदाहुँदै कोटा प्रणालीमार्फत छनोट गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने, दक्ष प्रशिक्षकको अभाव समाधान गर्नुपर्ने, खेलकुद पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्डअनुसार दिगो रूपमा निर्माण गर्नुपर्ने, साथै खेलकुद क्षेत्रमा अनावश्यक राजनीतिक हस्तक्षेप रोक्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका थिए।
छलफलमा खेलाडीको भविष्य सुनिश्चित गर्न बीमा, रोजगारी र अवकाशपछिको जीवन व्यवस्थापनसम्बन्धी ग्यारेन्टी आवश्यक रहेको, साथै स्थानीय, प्रदेश र संघीय सरकारबीच स्पष्ट भिजन र पर्याप्त लगानी बिना खेलकुदको दीर्घकालीन विकास सम्भव नहुने निष्कर्ष निकालिएको थियो।

नेपालले पदक जित्ने उच्च सम्भावना भएका अल्ट्रा म्याराथन, पर्वतीय दौड तथा हाई–अल्टिच्युड खेलकुद प्रतियोगिता जस्ता इभेन्टको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमै आयोजना गर्न सके खेल पर्यटनमार्फत ठूलो आर्थिक लाभ लिन सकिने विषय पनि उठाइएको थियो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक उपलब्धिमा नेपाली सेनाको योगदान करिब ६० प्रतिशत रहेको सेनानी हुमान सिंह कुँवरले जानकारी दिनुभयो।
यसै अवसरमा राखेप सदस्य डा. मधुसूदन सुवेदीले पछिल्लो डेढ वर्षमा भएका बैठकहरू अधिकांशतः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्ने विषयमै सीमित भएको उल्लेख गर्दै, नीतिगत सुधार र दीर्घकालीन कार्यक्रमको अभावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। समग्रमा, पश्चिम पृतनामा सम्पन्न यो गोष्ठीले नेपाली खेलकुदको समस्या केवल खेलाडी वा संघ–संस्थासम्म सीमित नभई नीति, संरचना र राजनीतिक हस्तक्षेपसँग गहिरो रूपमा जोडिएको सन्देश दिएको छ।
अनुशासन, निरन्तरता र संस्थागत क्षमताको उदाहरण प्रस्तुत गर्दै आएको नेपाली सेनाको खेलकुद मोडेललाई राष्ट्रिय खेलकुद नीतिसँग प्रभावकारी रूपमा जोड्न सके, नेपालले अन्तर्राष्ट्रिय मञ्चमा पदक जित्ने सपना केवल सपना मात्रै रहने छैन।




























