
दोधारा चाँदनी (कञ्चनपुर), १९ कात्तिक। सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन् । अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरुले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा किसानहरु समस्यामा परेका हुन् ।
किसानले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरु मल लिन नआएको कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज जोशीले जानकारी दिए। रासायनिक मल वितरणका लागि कृषि सामग्री केन्द्रमा दर्ता भएका सहकारीले असोज मसान्तसम्ममा नवीकरण गरेर १० दिनभित्र कोटाको रासायनिक मल लगिसक्नुपर्ने प्रावधान भए पनि हालसम्म सहकारीहरु नवीकरण गर्नसमेत नआएको उनले बताए।
“यहाँ मल वितरणका लागि १५४ वटा सहकारी दर्ता भएका छन् जसमध्ये असोज मसान्तसम्म २० वटा सहकारीले मात्रै नवीकरण गरेका छन्”, कार्यालय प्रमुख जोशीले भने, “सहकारीहरुले समयमा मल नलग्दा समस्या भएको छ ।” उनले कञ्चनपुरमा रासायनिक मल अभाव नरहेको बताउँदै सहकारीले समयमा मल नलग्दा किसान समस्यामा पर्ने गरेको बताए। “हामीले सिधै किसानलाई मल बिक्री गर्न मिल्दैन, सहकारीमार्फत कोटाअनुसार मल वितरण गर्ने हो”, उनले भने, “सहकारीले मल लिन नआएपछि पालिकाहरुलाई पत्राचार गरेका छौँ ।”
हाल कञ्चनपुरका नौ वटा स्थानीय तहमा कोटाअनुसार सहकारीलाई मल वितरण गरिँदै आएको छ । “रासायनिक मल आउनेक्रम जारी छ, एक चरणको कोटाको मल हामीले वितरण गरिसकेका छौँ”, जोशीले भने, “अहिलेसम्म मल अभाव भएको छैन हामीसँग पर्याप्त मल मौज्दात छ ।”

























