
कास्की, २५ असाेज। पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बेगनास फिस फेस्टिभल’ तथा देउसीभैलो प्रतियोगिता आयोजना हुने भएको छ।
‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नाराका साथ आगामी कात्तिक १३ देखि २३ गतेसम्म पोखरा महानगरपालिका–३१ मा सञ्चालन हुने यस महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजकले जनाएको छ।
होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथद्वारा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले बेगनास क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय व्यवसायलाई चलायमान बनाउन यो महोत्सव उपयोगी हुने बताउनुभयो।
महोत्सवका मुख्य आकर्षणहरू
-
माछाका परिकार तथा रैथाने खानपान: स्थानीय एवं स्वदेशी प्रजातिका माछाका विभिन्न स्वादिला परिकारहरूको बिक्री तथा प्रवर्द्धन।
-
प्रदर्शनी तथा व्यापार: मोती खेतीसम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला तथा विभिन्न कम्पनीका उत्पादनहरूको प्रदर्शनी।
-
सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम: लोप हुँदै गएको मौलिक देउसीभैलो प्रतियोगिता, राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति र पप कन्सर्ट।
-
पर्यटन प्रवर्द्धन: बेगनास ताल आसपासका पर्यटकीय स्थलहरूको प्रचारप्रसार।
बेगनास ताल र माछाको विविधता
बेगनास ताल माछाको विविधताका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। पूर्वअध्ययनअनुसार यहाँ १७ प्रजातिका माछा अभिलेख गरिएका छन्, जसमध्ये ११ स्वदेशी (सहर, कत्ले, चचुने, फगेटा, पोथी आदि) र ६ बाह्य/व्यावसायिक (तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प र कमन कार्प) प्रजातिका रहेका छन्।
तालहरूको व्यवस्थित प्रवर्द्धन र विकासमा जोड
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखराका आठवटै ताललाई तिनको विशेषताअनुसार विकास गरी जलक्रीडा केन्द्रका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
एसोसिएसनका संस्थापक अध्यक्ष दुर्गाप्रसाद अधिकारीले वि.सं. २०७१ देखि सुरु भएको यो महोत्सव कोभिड-१९ पछि पुनः निरन्तरता दिन लागिएको जानकारी दिनुभयो।
पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले स्थानीय उत्पादन र रैथाने खानाको प्रवर्द्धनमा महानगरले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। महोत्सवबाट बचत भएको रकम तालबराही, गोरखनाथ मन्दिर र बेगनास ताल क्षेत्रको भौतिक एवं धार्मिक विकासमा खर्च गरिने आयोजकले जनाएको छ।






















