
काठमाडौं, ४ असाेज । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा प्राविधिक काम तथा प्रणाली स्तरोन्नति गर्नुपर्ने भएकाले असोज ४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा रहेका पुराना रिले हटाएर नयाँ रिले जडान गर्न लागेको हो। त्यसका साथै रिले रेट्रोफिट तथा सबस्टेसन अटोमेसन सिस्टम (एसएएस) जडान र परीक्षणको काम समेत गरिने प्राधिकरणले जानकारी दिएको छ।
उक्त मर्मत तथा स्तरोन्नतिको क्रममा १३२ केभी टेकु सबस्टेसनबाट विद्युत आपूर्ति हुने विभिन्न वितरण केन्द्रअन्तर्गतका फिडरहरू प्रभावित हुनेछन्। जसका कारण सम्बन्धित फिडरबाट बत्ती जाने क्षेत्रहरूमा विद्युत सेवा अवरुद्ध वा प्रभावित हुन सक्नेछ।
सबस्टेसनमा गरिने कामको प्रकृति र फिडरअनुसार विद्युत आपूर्ति बन्द हुने समय फरक–फरक रहने भएकाले सबै क्षेत्रमा एकै समयमा बत्ती नजाने प्राधिकरणले स्पष्ट पारेको छ। असोज ४ देखि १४ गतेसम्म आवश्यकताअनुसार विभिन्न फिडरमा विद्युत बन्द गर्दै नयाँ उपकरण जडान तथा परीक्षणका काम अघि बढाइनेछ।
विद्युत प्रणालीलाई थप सुरक्षित, भरपर्दो र आधुनिक बनाउने उद्देश्यले पुराना उपकरण विस्थापन गर्न लागिएको बताउँदै प्राधिकरणले यसबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। नयाँ प्रणाली जडान र परीक्षणको काम सम्पन्न हुनासाथ विद्युत आपूर्ति पुनः नियमित हुनेछ।






















