काठमाडौं, ११ भाद्र । हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि SAIC MAXUS सवारी साधनको आधिकारिक वितरक MAXUS Nepal (हिमालय मोटोक्स प्रालि) ले विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि रु. ७० लाख सहयोग गर्ने घोषणा गरेको छ। SAIC MAXUS Automotive Co., Ltd. चाइनासँगको समन्वयमा कम्पनीले नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोगको निर्णय गरेको हो।

घोषित रकममध्ये रु. ५० लाख ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिनेछ। सो रकम नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका कार्यमा उपयोग हुनेछ।

त्यस्तै, बाँकी रु. २० लाख बराबरको रकमबाट अत्यावश्यक राहत सामग्री खरिद गरी बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा वितरण गरिनेछ। यो राहत वितरण स्थानीय सरकार र सामाजिक संस्थाहरूको समन्वयमा तत्काल सहयोग आवश्यक भएका स्थानहरू पहिचान गरेर अघि बढाइने कम्पनीले जनाएको छ।

राहत सामग्रीको प्रकृति, क्षेत्र र समयतालिका हाल सरोकारवाला निकायहरूसँगको छलफलमा रहेको र प्रधानमन्त्री उद्धार कोषमा रकम हस्तान्तरण तथा सामग्री वितरणको विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने बताइएको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा यो सहयोग MAXUS Nepal र SAIC MAXUS को नेपाली जनताप्रतिको दीर्घकालीन प्रतिबद्धता र सामाजिक उत्तरदायित्वको प्रतीक भएको उल्लेख गरिएको छ। साथै, कम्पनीले बाढीबाट प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावित क्षेत्रको चाँडो पुनर्स्थापनाको कामनासमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0