
काठमाडाैं, २६ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटना र सरकारले विभिन्न क्षेत्रसँग गरेका सहमतिहरू कार्यान्वयन नगरेकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारसँग तत्काल ठोस कदम चाल्न माग गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार नेपाली कांग्रेसले उठाएका मुख्य विषयहरू यस प्रकार छन्:
-
निष्पक्ष आयोग र विनय यादवको अनशन: देवानगञ्ज–कप्तानगञ्जमा भएको दुःखद घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न कांग्रेसले पुन: जोडदार माग गरेको छ। साथै, सोही माग राखेर विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य स्थिति गम्भीर बन्दा पनि सरकारले बेवास्ता गरेकोमा चिन्ता व्यक्त गरिएको छ।
-
पीडितलाई न्याय र सम्झौता कार्यान्वयन: राज्यको दमनका कारण देवानगञ्ज घटनामा निर्दोष नागरिकले ज्यान गुमाउनुका साथै निजी सम्पत्तिमा ठूलो क्षति पुगेको उल्लेख गर्दै, सरकारले ४ जनालाई शहीद घोषणा गरे पनि अन्य सम्झौताहरू अलपत्र पारेको जनाइएको छ। सरकारको यो गैरजिम्मेवार रवैयाले स्थानीयमा आक्रोश बढाएको र पुन: अर्को दुर्घटना निम्तिने खतरा रहेको भन्दै सम्झौता अविलम्ब कार्यान्वयन गर्न माग गरिएको छ।
-
विभिन्न पक्षहरूसँग गरिएका सहमतिको पालना: सरकारले चिकित्सक, निजामती कर्मचारी, शिक्षक, किसान, यातायात व्यवसायी तथा मिटरब्याज पीडित लगायतसँग गरेका दर्जनौँ सहमतिहरू ‘उम्किने मनसायले बनाइएको कीर्ते कागज’ मात्र साबित भएको आरोप कांग्रेसको छ। ती सबै सम्झौताहरू इमानदारपूर्वक कार्यान्वयन गरी पीडितहरूलाई राहत दिलाउन माग गरिएको छ।
-
राज्यप्रतिको घट्दो विश्वास: सहमति मात्रै गर्ने तर कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिका कारण समाजमा नैराश्यता बढेको र ‘राज्य अभिभावक हो’ भन्ने विश्वास टुट्दै गएको विज्ञप्तिमा उल्लेख छ। यस गम्भीर स्थितिप्रति समयमै संवेदनशील बन्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा हाल सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता चालीसेले जानकारी दिनुभएको छ।

























