
काठमाडौं, २५ जेठ । साताको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजारमा नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि लगातार घटिरहेको नेप्सेले यस दिन (सोमबार) पनि सोही गिरावटको क्रमलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा झरेको छ। सूचकसँगै यस दिन ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.६२ अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंकले ओरालो लागेको छ।

कारोबार रकममा पनि मन्दी
नेप्से सूचकसँगै यस दिन बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा संकुचित भएको छ। गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन सुस्तता देखिएको हो।
सोमबार कुल ३५६ कम्पनीको ५६ हजार ८४५ पटकको कारोबारमा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँ बराबरको ९२ लाख ३६ हजार कित्ता शेयर मात्र खरिदबिक्री भएको छ।
कालिञ्चोक हाइड्रोपावरमा सकारात्मक सर्किट, उपकार लघुवित्तका लगानीकर्ताले गुमाए
बजार समग्रमा ओरालो लागे पनि केही निश्चित कम्पनीका शेयरधनीहरूले भने उच्च नाफा कमाएका छन्। कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य प्रतिशेयर ११३ रुपैयाँ ६० पैसाले बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट छोएको छ। यता कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१४ प्रतिशतले घटेको छ।
सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा यस दिन सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको आज २० करोड ४६ lakh २९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो।
यस्तै, ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८ को १७ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम पनि साढे १३ करोड रुपैयाँ नाघेको छ।
१२ उपसमूह ओरालो लागे, वित्त उपसमूह मात्र हरियो
कारोबारमा आएका १३ उपसमूहहरूमध्ये यस दिन मात्र १ उपसमूह (वित्त उपसमूह) को परिसूचकमा सामान्य सुधार देखिएको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेर राताम्मे भएको छ।
यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंक र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।


























