
रेवान (आर्मेनिया) । दक्षिण काकेशस क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण राष्ट्र आर्मेनियाले आफ्नो विदेश नीतिमा ऐतिहासिक मोड लिँदै युरोपेली सङ्घ (इयु) सँग सम्बन्ध गहिरो बनाइरहेको छ । यही सन्दर्भमा आर्मेनियाले मङ्गलबार इयुसँग पहिलो द्विपक्षीय शिखर सम्मेलन आयोजना गर्दै लामो समयदेखिको सहयोगी रुसबाट दूरी बढाउने स्पष्ट सङ्केत दिएको छ ।
राजधानी येरेवानमा सम्पन्न उक्त शिखर सम्मेलन युरोपेली राजनीतिक समुदायको आठौँ भेला पछि युरोपका दर्जनौँ नेताहरूलाई एउटै मञ्चमा ल्याउँदै सम्पन्न भएको हो । सोमबार भएको छलफलमा युरोपेली सुरक्षा अवस्था र इरानमा अमेरिका–इजरायल युद्धसम्बन्धी विषयमा पनि चर्चा भएको थियो । यी घटनाक्रमहरूले आर्मेनियाले पश्चिमतर्फ उन्मुख हुने आफ्नो रणनीति तीव्र बनाएको देखाउँछन् । सन् २०२३ मा अजरबैजानले काराबाख क्षेत्र पुनः नियन्त्रणमा लिएपछि दशकौँ पुरानो पृथकतावादी शासन अन्त्य गर्दै आर्मेनिया र रुसबीचको सम्बन्ध चिसिएको थियो ।
आर्मेनियाली पक्षले अजरबैजानको आक्रमण रोक्न नसकेको भन्दै त्यहाँ तैनाथ रुसी शान्ति सैनिकहरूको आलोचना गरेको थियो । तर युक्रेन युद्धमा व्यस्त रहेको मस्कोले हस्तक्षेप गर्ने जनादेश नभएको दाबी गर्दै आरोप अस्वीकार गरेको थियो । येरेवानस्थित क्षेत्रीय अध्ययन केन्द्रका निर्देशक रिचार्ड गिरागोसियनले उक्त युद्धलाई ‘रुस अविश्वसनीय साझेदार भएको स्पष्ट प्रमाण’ भन्दै टिप्पणी गर्नुभयो । त्यसयता प्रधानमन्त्री निकोल पाशिन्यानको नेतृत्वमा आर्मेनियाले पश्चिमसँग सम्बन्ध विस्तारलाई प्राथमिकता दिएको छ, जसलाई इयुले स्वागत गरेको छ ।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले पाशिन्यानलाई युरोप नजिक ल्याउने साहसी राजनीतिक निर्णयका लागि धन्यवाद दिनुभएको छ । उहाँले आर्मेनियाली लोकतन्त्र सुदृढीकरण र बाह्य हस्तक्षेप तथा गलत सूचनाविरुद्धको प्रयास महत्त्वपूर्ण रहेको बताउनुभयो । त्यसैगरी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले आर्मेनियाले दक्षिण काकेशस र मध्य एसियाबीचको सम्पर्क सञ्जालमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो । आर्मेनियाले सन् २०२३ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा सदस्यता लिएको थियो, जसलाई मस्कोले ‘प्रतिकूल कदम’ भनेको थियो । उक्त अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युक्रेनबाट बालबालिका अपहरणको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























