
सियोल, ६ माघ । उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गर्नुभएको छ । राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार उहाँले एक महत्त्वपूर्ण औद्योगिक मेसिनरी कम्प्लेक्सको उद्घाटनका क्रममा उच्च अधिकारीहरूमा देखिएको ‘अक्षमता, गैरजिम्मेवारी र निष्क्रियता’ विरुद्ध असाधारण रूपमा कडा र सार्वजनिक आलोचना गर्नुभएको हो ।
सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किमले याङलाई ‘घटनास्थलमै’ पदमुक्त गर्न आदेश दिनुहुँदै ‘गैरजिम्मेवार, अशिष्ट र अयोग्य’ अधिकारीहरूलाई तीव्र रूपमा हप्काउनुभयो । ‘कृपया, कमरेड भाइस प्रिमियर, धेरै ढिलो हुनुअघि नै आफैँ राजीनामा दिनुहोस्”, उहाँले भनाइलाई केसिएनएले उद्धृत गरेको छ । आणविक हतियार सम्पन्न उत्तर कोरिया अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण गम्भीर आर्थिक चुनौती र दीर्घकालीन खाद्यान्न अभावसँग जुध्दै आएको छ ।
यद्यपि किमले विगतमा पनि आर्थिक नीतिको कथित खराब व्यवस्थापनका लागि अधिकारीहरूलाई आलोचना गर्दै आउनुभएको भए पनि यसरी खुला रूपमा बर्खास्त गर्नु दुर्लभ मानिन्छ । सोमबार हामग्योङ प्रान्तमा रहेको औद्योगिक कम्प्लेक्सको अवलोकनका क्रममा किमले ‘लामो समयदेखि पराजयवाद र निष्क्रियतामा फसेका’ कार्यकर्ताहरूले राज्यको विकासमा अवरोध पुर्याएको बताउनुभयो ।
याङ ‘भारी जिम्मेवारी वहन गर्न अयोग्य’ रहेको टिप्पणी गर्दै उहाँले क्याडर नियुक्तिमा भएको ‘आकस्मिक गल्ती’ स्वीकार गर्नुभयो ।




























