
नयाँदिल्ली, २० कात्तिक । विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गर्नुभएको छ ।
स्टारलिङ्कले कम–कक्षीय उपग्रहहरू (लो–अर्थ अर्बिट स्याटेलाइट्स) मार्फत दुर्गम तथा पहुँचविहीन क्षेत्रमा उच्च–गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । यो प्रक्षेपणले भारतमा मूल्य प्रतिस्पर्धा, स्पेक्ट्रम वितरण र बजार नीतिहरू सम्बन्धी गम्भीर बहसलाई पुनः ताजा बनाएको छ । भारतमा यस वर्षको अन्त्यसम्म ९० करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता हुने अनुमान छ ।
यही पृष्ठभूमिमा सरकारले जुन महिनामा स्टारलिङ्कलाई देशमा सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरेको थियो । “महाराष्ट्र स्टारलिङ्कसँग औपचारिक रूपमा सहकार्य गर्ने पहिलो भारतीय राज्य बन्ने तयारीमा छ”, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नाविसले मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा लेख्दै भन्नुभयो, “यो सहकार्यले भारतलाई स्याटेलाइट–सक्षम डिजिटल पूर्वाधारमा अग्रणी बनाउनेछ ।”
यसअघि, भारतका सबैभन्दा ठूला दूरसञ्चार कम्पनीहरू जियो प्लेटफर्म्स र यसको प्रतिस्पर्धी भारती एयरटेलले समेत आफ्ना ग्राहकहरूलाई स्टारलिङ्क इन्टरनेट उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गर्ने योजना सार्वजनिक गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























