ढोरपाटन (बागलुङ), १९ कात्तिक। मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ ।

यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा महायज्ञ आयोजना गर्न लागिए पनि त्यसभन्दा अघि नै उक्त रकम जम्मा भइसकेको मानव सेवा आश्रमका अध्यक्ष रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । आश्रमका लागि विभिन्न व्यक्ति र धौलागिरिका पालिकाहरुबाट रकम प्राप्त भएको उहाँको भनाइ छ ।

महायज्ञबाट रु १० करोड सङ्कलन गर्ने लक्ष्य लिइएको छ । त्यसबाट तीन वर्षअघि निर्माण सुरु भएको भवन निर्माणमा रु पाँच करोड गर्ने र बाँकी रकमको अक्षयकोष स्थापना गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । हालसम्म बागलुङ नगरपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिकासहित बागलुङ नगरपालिका–३ गुठीका उज्जवल खड्काले भवनको एक कोठा निर्माणका रु पाँच लाख ११ हजार १११ सहयोग गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार बागलुङ नगरपालिका–३ का स्वर्गीय लालबहादुर राजभण्डारी र महालक्ष्मी राजभण्डारीको स्मृतिमा उहाँको परिवारबाट रु पाँच लाख ११ हजार १११, देउरालीचोक आमा समूहबाट रु एक लाख, गलकोट नगरपालिका–३ का लिला साहनीको परिवारले रु ५० हजार, नगरपालिका–३ का रुद्रा केसीबाट रु ५१ हजार १११, रेनुका अधिकारीको परिवारबाट रु ५० हजार ५९८ सहयोग प्राप्त भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “मानव सेवा आश्रमका लागि महायज्ञ सुरु नहुँदै सहयोग आउने क्रम जारी छ, यसले हामीलाई थप ऊर्जा थपेको छ, हामीहरु निरन्तर लागि रहेका छौँ, धौलागिरिका बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका पालिकासँग सहयोग मागेका छौँ ।” निर्माणाधीन भवन आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य रहेको मानव सेवा आश्रम बागलुङकी सञ्चालक विपना तामाङले बताउनुभयो । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुने उहाँको भनाइ छ ।

२०० जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको तामाङले बताउनुभयो । आश्रम निर्माणमा हालसम्म रु पाँच करोडभन्दा बढी खर्च भएको उहाँको भनाइ छ । हाल आश्रमको बागलुङ शाखामा मात्रै ६४ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनीहरूको पालनपोषण र रेखदेखमा मासिक रु १० लाखभन्दा बढी खर्च हुने गरेको सञ्चालक तामाङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0