

टोकियो, ९ जेठ । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर कम गर्ने विषयमा नयाँ वार्ताअघि फोनवार्तामा फेरि दबाब दिएको बताउनुभएको छ ।
अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठूलो लगानीकर्ता जापानमाथि अधिकांश राष्ट्रमा लगाइएका समान १० प्रतिशत आधारभूत भन्सार शुल्क र कार, स्टिल र एल्युमिनियममा कडा भन्सार शुल्क लगाइएको छ ।
ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा पनि गर्नुभएको थियो तर पछि अन्य देशमा लगाइएका समान उपायहरूसँगै ती जुलाईको सुरुसम्मका लागि स्थगित गर्नुभयो ।
इसिबाले शुक्रबार बिहान आफूले बिहीबार साँझ वासिङ्टनमा ट्रम्पसँग ४५ मिनेट कुरा गरेको र ‘भन्सार शुल्क र आर्थिक सुरक्षासहित विभिन्न विषयहरूमा छलफल भएको’ बताउनुभयो ।
“मैले उहाँलाई अमेरिकी भन्सार शुल्कको विषयमा जापानको अवस्था बताएँ, भन्सार शुल्क हटाउने हाम्रो आग्रहमा कुनै परिवर्तन छैन”, इसिबाले टोकियोमा पत्रकार सम्मेलनमा भन्नुभयो, “मैले पहिले भनेजस्तै, यो केवल भन्सार शुल्कको मात्र कुरा नभई लगानीको पनि कुरा हो ।
जापान र अमेरिकाले अमेरिकामा रोजगारी सिर्जना गर्न सहयोग गर्ने हाम्रो अवस्थामा पनि कुनै परिवर्तन हुनेछैन ।”


























