
वासिङ्टन, ५ असोज । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने सात सदस्यीय बोर्डमा छ जना अमेरिकी हुनेछन् ।
उनले ‘आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताइन्। संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण टिकटकको अमेरिकी सञ्चालन बाइटडान्सबाट अलग गर्न दबाब दिँदै आएको थियो । पूर्वराष्ट्रपति जो बाइडेनको नेतृत्वमा कङ्ग्रेसले बाइटडान्सलाई आफ्नो अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्नुपर्ने कानून पास गरेको थियो ।
अमेरिकी नीतिनिर्माताहरूले चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा सङ्कलन गर्न सक्ने वा तिनको सामाजिक सञ्जालमा देख्ने सामग्रीलाई प्रभाव पार्न सक्ने चेतावनी दिएका थिए । तर ट्रम्पले आफ्नो सन् २०२४ को चुनावी अभियानमा युवाबीच लोकप्रिय टिकटकलाई सक्रिय रूपमा प्रयोग गरेका थिए।
ट्रम्पले प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ गर्दै सम्झौता खोजिरहेका बेला ओरेकललगायतका लगानीकर्ताले टिकटक खरिद गर्न रुचि देखाएका छन् । ओरेकल ट्रम्पका प्रमुख समर्थक तथा विश्वकै धनी मध्ये एक ल्यारी एलिसनको स्वामित्वमा रहेको टेक कम्पनी हो ।

























