
टोकियो, १४ साउन । अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूर पूर्वमा बुधबार बिहान गएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा चार मिटर (१२ फिट) सम्म सुनामी आएको थियो र हवाईदेखि जापानसम्मका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।
अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार रुसको दुर्गम कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कबाट बिहान ८ः२४ बजे (२३०४ जिएमटी मङ्गलबार) ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो र यो रेकर्ड गरिएको १० मध्ये सबैभन्दा ठूलो थियो । रूसी अधिकारीहरूले सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीले बाढी ल्याएको बताएका छन् भने स्थानीय मिडियाले कामचटकाको एलिजोभ्स्की जिल्लामा तीनदेखि चार मिटर अग्लो सुनामी रेकर्ड गरिएको बताएको छ ।
रुसी सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा सहरका भवनहरू समुद्री पानीमा डुबेको देखाइएको छ । अधिकारीहरूले लगभग दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बतएका छन् । भूकम्पबाट रुसमा धेरै मानिस घाइते भएका तर तिनीहरूमध्ये कसैको पनि गम्भीर अवस्था नभएको राज्य मिडियाले रिपोर्ट गरेको छ । “भित्ताहरू हल्लिरहेका थिए”, एलिजोभ्स्कीकी एक बासिन्दाले राज्य मिडिया ज्वेज्दालाई भन्नुभयो, “राम्रो कुरा के हो भने हामीले सुटकेस तयार पारेका थियौँ, ढोकानजिकै पानी र लुगाफाटासहितको एउटा सुटकेस थियो ।
हामीले तुरुन्तै त्यो उठायौँ र बाहिर भाग्यौँ… यो धेरै डरलाग्दो थियो ।” संयुक्त राज्य अमेरिका, मेक्सिको र इक्वेडर लगायत उत्तर र दक्षिण अमेरिकाका प्रशान्त तटवर्ती देशहरूका अधिकारीहरूले प्रभावित समुद्री किनारहरूबाट टाढा रहन चेतावनी दिएका छन् । जापानमा मानिसहरूलाई कार वा पैदल उच्च भूमिमा निकालिएको छ । होक्काइडोमा ३० सेन्टिमिटर मापन गरिएको पहिलो लहर अवलोकन गरिएको थियो । दिउँसो (०३०० जिएमटी) सम्म जापानमा कुनै घाइते वा क्षति भएको रिपोर्ट गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























