
भोजपुर, ५ असार । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे)संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ ।
रेड पान्डाको संरक्षणको लागि यहाँको टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरीसमेत निर्माण गरिएको उहाँको भनाइ छ ।
गत आर्थिक वर्षमा पोखरी निर्माण तथा रेड पान्डाको आहार मालिङ्गो रोपनको लागि श्रमदानसहित रु १३ लाख ३० लागत बराबरको काम सम्पन्न भएको अधिकृत अधिकारीले जानकारी दिनुभयो । “हामीले रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “रेड पान्डाको मुख्य आहार मालिङ्गो (बाँस प्रजाति)को आठ हजार बिरुवा रोपन गरेका छौँ ।
रेड पान्डा नेटवर्कसँगको सहकार्यमा रेड पान्डाको संरक्षण गरिरहेका छौँ । रेड पान्डाले मालिङ्गोका टुसा मन पराउने हुनाले यहाँ बिरुवा रोपन गरिएको हो ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























