
खोटाङ, २८ जेठ । हलेसी तुवाचुङ नगरपलिकाका ११६ घर भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरिएको छ ।
भूमि प्राप्तिका लागि निवेदन दिनेमध्ये लगत प्रणालीमा प्रविष्ट भएका १८ घर भूमिहीन दलित, चार घर सुकुम्वासी र ९४ घर अव्यवस्थित बसोवासीलाई जग्गाको लालपूर्जा उपलब्ध गराउन मङ्गलबार निस्सा वितरण गरिएको हो । निस्सा प्राप्त गर्ने भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई चाँडै जग्गाको लालपूर्जा उपलब्ध गराउने गरी दोस्रो चरणको प्रक्रिया सुरु गरिएको नगरप्रमुख विमला राईले जानकारी दिए ।
“निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर नगरपालिकालाई सिफारिस गर्छ । वडाको सिफारिसको आधारमा उनीहरुलाई लालपूर्जा उपलब्ध गराउन नगरपालिकाको तर्फबाट राष्ट्रिय भूमि आयोग खोटाङलाई सिफारिस गर्छौँ”, उनले भने, “लाभग्राहीलाई निस्सा वितरण गरिसकेपछि वडा कार्यालयले सात दिने दाबी विरोधसम्बन्धी सूचना जारी गर्नुपर्ने हुन्छ ।
वडाले जारीको सार्वजनिक सूचनामा कसैको पनि दाबी विरोध नगरेको खण्डमा नगरपालिकाको तर्फबाट लालपूर्जा वितरणको लागि प्रक्रिया अगाडि बढाउँछौँ ।” हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको निस्सा वितरण कार्यक्रममा राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष निर्मल राई, जिल्ला मालपोत कार्यालय खोटाङका प्रमुख जगतबहादुर श्रेष्ठ र नापी कार्यालय खोटाङका प्रमुख सुमन श्रेष्ठ, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
लामो समयदेखि भूमिहीन अवस्थामा रहेका दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरु नगरपालिकाको समन्वयमा जग्गाको निस्सा प्राप्त गरेपछि जग्गाको लालपूर्जा पाउनेमा आशावादी बनेको नगरप्रवक्ता एवं वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए। दश स्थानीय रहेको जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीगरी ७९२ घर लाभग्राही रहेको राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष निर्मल राईले जानकारी दिए ।























