
शुक्लागण्डकी, २७ जेठ । गणित शिक्षणमा ICT उपकरणहरूको प्रयोगबारे तीन दिने TPD तालिम साेमबार तनहुँमा सफलतापूर्वक सम्पन्न भएकाे छ । जियोजेब्रा, डेस्मोस, AI लगायत डिजिटल उपकरणहरूको माध्यमबाट सरकारी विद्यालय शिक्षकहरूलाई सक्षम बनाउन शुक्लागण्डकी नगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा साे तालिम गरिएकाे हाे ।
“ICT को माध्यमबाट गणित शिक्षण सशक्तीकरण : जियोजेब्रा, AI र डिजिटल उपकरणहरूमा आधारित TPD” शीर्षकको तीन दिने शिक्षक पेशागत विकास (TPD) तालिम शुक्लागण्डकी नगरपालिका, तनहुँमा सफलतापूर्वक सम्पन्न भएको प्रशिक्षक सूर्य माेहन आचार्यले जानकारी दिएका छन्।
तालिम शुक्लागण्डकी नगरपालिका र काठमाडौं विश्वविद्यालय, शिक्षा संकाय (KUSOED), हाटीवन, ललितपुरको संयुक्त आयोजनामा सम्पन्न भएको हो। जेठ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको यस तालिममा नगरपालिकाभरिका विभिन्न सरकारी विद्यालयहरूबाट २२ जना माध्यमिक तहका गणित शिक्षकहरू सहभागी थिए।
सहभागीहरूले जियोजेब्रा, डेस्मोस क्यालकुलेटर, पोलिप्याड, तथा AI-आधारित उपकरणहरू प्रयोग गर्दै व्यावहारिक तथा हातमा कलम लिएर सिकाउने शैलीमा प्रशिक्षण प्राप्त गरे । जसले कक्षा शिक्षणमा प्रविधिको प्रयोगमार्फत विद्यार्थीहरूको संलग्नता बढाउने लक्ष्य राखिएकाे थियो।
तालिमका तीनजना विज्ञ प्रशिक्षकहरू पूर्ण बहादुर क्षेत्री, सूर्य मोहन आचार्य र रजन धरेलले प्रशिक्षण सत्र सञ्चालन गरेका थिए । उनीहरूले सहभागीहरूलाई गणितीय एप्लेटहरू निर्माण, जटिल समीकरणहरूको दृश्यिकरण, र इन्टरएक्टिभ प्लेटफर्महरूको प्रयोग मार्फत अमूर्त अवधारणाहरू बुझाउने तरिकामा मार्गदर्शन गरे।
तालिम कार्यक्रमको औपचारिक उद्घाटनमा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितद्वारा गरिएकाे थियाे ।
प्रमुख अतिथि रहेका उनले यस्ता तालिमहरूले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै शिक्षण विधि रूपान्तरणमा ठूलो भूमिका खेल्ने भन्दै प्रविधिको माध्यमबाट शिक्षालाई आधुनिकीकरण गर्ने दिगो प्रयास आवश्यक रहेको बताए।
कार्यक्रमको अध्यक्षता नवराज चापागाईं, प्रमुख, शिक्षा, युवा तथा खेलकुद शाखा कार्यालयले गरेका थिए ।
उनले यस्ता तालिमहरूले शिक्षकहरूलाई AI उपकरणहरू तथा डिजिटल शिक्षाशास्त्रको प्रयोग गर्न सक्षम बनाउँदै व्यावहारिक जीवनसँग गाँसिएको शिक्षण सम्भव बनाउनेमा जोड दिए ।
काठमाडौं विश्वविद्यालयबाट तालिम निरीक्षकका रूपमा सहभागी दयाराम सिम्खडाले वैकल्पिक र अनिवार्य गणित विषयका परिमार्जित पाठ्यक्रमको बारेमा जानकारी दिए। उनले २१औँ शताब्दीका दक्षताहरूसँग समाहित हुन शिक्षकहरूले ICT लाई कक्षा शिक्षणमा एकीकृत गर्दै नयाँ पद्धति अपनाउन प्रोत्साहित गरे ।
अनुभूति सत्रमा सहभागीहरूको तर्फबाट राजन खनाल र शान्ति पौडेलले आफ्ना विचारहरू बताउँदै नयाँ सीपहरू सिक्ने अवसरप्रति आभार प्रकट गरे। “मैले जियोजेब्रा एप्लेटको माध्यमबाट वृत्त सम्बन्धी प्रमेयहरू सिकाउने तरिका सिकें, साथै डेस्मोस प्रयोग गरेर परवलय देखाउने र एकसाथ समीकरणहरू हल गर्ने तरिका प्रभावकारी रहेको अनुभव गरेँ,” खनालले बताए। पौडेलले थपिन्, “पोलिप्याडको प्रयोगले गणितीय अवधारणाहरू इन्टरएक्टिभ रूपमा कसरी प्रस्तुत गर्ने भन्ने कुरा बुझ्न धेरै सहयोग पुर्यायो।
उनीहरुले तालिमले मैले गणित सिकाउने तरिका नै बदलिदियो।” शिक्षकहरू र आयोजकहरूले सहभागीहरूको उत्साह र सक्रिय सहभागिताको प्रशंसा गरे, र धेरै सहभागीहरूले यस्ता तालिमहरू नियमित रूपमा सञ्चालन गरिनुपर्ने चाहना व्यक्त गरे।
सहभागीहरूले प्रशिक्षकहरू र आयोजकहरूलाई आभार व्यक्त गर्दै तालिमलाई व्यवहारिक, प्रेरणादायी र प्रभावकारी भएको बताउँदै आगामी दिनमा गणित शिक्षणलाई प्रविधिमैत्री र अर्थपूर्ण बनाउने प्रेरणा प्राप्त भएको बताए ।
























