Home headline main बडादसैँ सुरु : आज घटस्थापना, घरघरमा विधिपूर्वक जौँको जमरा राखिँदै

बडादसैँ सुरु : आज घटस्थापना, घरघरमा विधिपूर्वक जौँको जमरा राखिँदै

बडादसैँ सुरु : आज घटस्थापना, घरघरमा विधिपूर्वक जौँको जमरा राखिँदै
काठमाडौ, २५ असाेज । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाइने यो पर्वको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिएको छ। आज बिहानै नित्यकर्म समाप्त गरी नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा विधिपूर्वक यव अर्थात् जौँ रोप्ने गरिन्छ, जसलाई जमरा भनिन्छ। धर्मशास्त्रविद्हरूका अनुसार जमरामा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि नभए पनि कुल परम्पराअनुसार केहीले अन्य अन्न पनि मिसाएर रोक्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ।

घटस्थापनाको साइत र अन्य मुख्य साइतहरू

  • घटस्थापनाको साइत: आज बिहान ११ः४७ बजे (मध्याह्नकालको अभिजित् मुहूर्त)।
  • देवी विसर्जनको साइत (कात्तिक ४ गते): बिहान ८ः४९ बजे।
  • टीका प्रसाद ग्रहण गर्ने साइत (उत्तम साइत): बिहान १०ः२६ बजे।
समितिका अनुसार आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा घटस्थापनाको साइत जुुरेको हो। सूर्योदयकालमा प्रतिपदा भएका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।

दसैँको धार्मिक महत्त्व र पारिवारिक पुनर्मिलन

नवरात्रभर दुर्गा देवीका तीनवटा रूपहरू महाकाली (शक्तिको प्रतीक), महालक्ष्मी (धनधान्य र ऐश्वर्यको प्रतीक) र महासरस्वती (विद्या र बुद्धिको प्रतीक) को विधिपूर्वक पूजा आराधना गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने यो पर्वलाई पारिवारिक पुनर्मिलनको ठूलो अवसरका रूपमा समेत लिइन्छ। दसैँका अवसरमा काठमाडौँलगायत प्रमुख सहरहरूबाट आफ्नो थातथलो फर्कनेहरूको लाम लाग्न थालेको छ।

आजदेखि ९ दिनसम्म पुजिने नवदुर्गा देवीहरूको सूची

नवरात्रका ९ दिनसम्म पालैपालो पूजा गरिने नवदुर्गाका रूपहरूको विवरण यस प्रकार रहेको छ :
  1. प्रथम दिन (आज): शैलपुत्री
  2. दोस्रो दिन: ब्रह्मचारिणी
  3. तेस्रो दिन: चन्द्रघण्टा
  4. चौथो दिन: कुष्माण्डा
  5. पाँचौँ दिन: स्कन्दमाता
  6. छैटौँ दिन: कात्यायनी
  7. सातौँ दिन: कालरात्रि (यस दिन फूलपाती भित्र्याइन्छ)
  8. आठौँ दिन: महागौरी (महाअष्टमी – बलि पूजा गर्नेहरूद्वारा विशेष पूजा)
  9. नवौँ दिन: सिद्धिदात्री (महानवमी)
दसैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट प्रसाद र आशीर्वादस्वरूप ग्रहण गर्ने परम्परा रहिआएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here