किभ, ३ साउन । रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार स्थानीय समय बिहान करिब १ः३० बजे सुरु भएको आक्रमण केही घण्टासम्म जारी रहँदा राजधानीभरि विस्फोटका आवाज सुनिएका थिए ।

युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रुसी आक्रमणबाट किभका पाँचवटा जिल्लामा आगलागी भएको थियो । आक्रमणमा आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारीसाधनमा क्षति पुगेको छ । उद्धारकर्मीले स्भियातोसिन्स्की जिल्लामा आगलागी भएको एक निजी घरबाट चार जनाको उद्धार गरेका थिए भने शेभचेन्किभ्स्की जिल्लामा आगलागी भएको तीनतले भवनबाट बासिन्दालाई सुरक्षित स्थानमा पु¥याएका थिए ।

गैरआवासीय भवनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा त्यहाँ एक जनाको शव फेला परेको थियो । दमकलकर्मीले सोलोम्यान्स्की, देस्नियान्स्की र निप्रो जिल्लामा लागेको आगो पनि नियन्त्रणमा लिएका थिए । यसैबीच, रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न प्रभावकारी मानिएको अमेरिकी निर्मित ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीको अभाव युक्रेनले सामना गरिरहेका बेला रुसले पछिल्ला सातामा किभमाथि ठूला आक्रमण तीव्र पारेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र उत्पादनका लागि अनुमति दिन तयार रहेको बताउनुभएको छ । यसले रुसी क्षेप्यास्त्र आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा क्षमता बढाउन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, यससम्बन्धी कार्यान्वयन प्रक्रिया र समयसीमा भने स्पष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0