
क्यानबेरा, २१ वैशाख । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सोमबार विश्वव्यापी तेल आपूर्ति सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ‘अत्यन्त ठूलो प्रभाव’ पारेको बताउनुभएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग क्यानबेरामा भएको भेटवार्तापछि उहाँले दुवै देशले ऊर्जा आपूर्तिलाई सुरक्षित र स्थिर बनाउन आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँका अनुसार विश्वको करिब एक–पाँच भाग तेल सामान्य अवस्थामा होर्मुज जलडमरूमध्य हुँदै आपूर्ति हुने गर्छ । तर हालको परिस्थितिमा संयुक्त राज्य अमेरिका र इजरायलमाथि आक्रमणपछि इरानले उक्त महत्वपूर्ण समुद्री मार्गमा अवरोध सिर्जना गरेकाले आपूर्ति शृङ्खला प्रभावित भएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) का अनुसार उक्त मार्गबाट हुने तेल निर्यातको करिब ८० प्रतिशत एसिया–प्रशान्त क्षेत्रतर्फ जाने गर्छ ।
“होर्मुज जलडमरूमध्यमा देखिएको अवरोधले इन्डो–प्यासिफिक क्षेत्रमा गम्भीर असर पारेको छ,” प्रधानमन्त्री ताकाइचीले बताउनुभयो। उहाँले जापान र अष्ट्रेलिया दुवै देशले ऊर्जा सुरक्षाका लागि घनिष्ठ समन्वयमा काम गर्ने उल्लेख गर्नुभयो । अष्ट्रेलिया जापानका लागि तरल प्राकृतिक ग्यास (एलएनजी) को प्रमुख आपूर्तिकर्ता हो भने जापान पनि अष्ट्रेलियाको डिजेल आपूर्तिमा महत्वपूर्ण साझेदार मानिन्छ । यसै सन्दर्भमा दुवै देशले ऊर्जा, अर्थतन्त्र, रक्षा तथा महत्वपूर्ण खनिज आपूर्तिमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























