
पोखरा, चैत १२ । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजना गरिएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको २०औँ संस्करणको समीक्षा बैठक सम्पन्न भएको छ। बुधवार भएको समिक्षा बैठकमा विभिन्न उपसमितिका संयोजकहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमको समग्र मूल्याङ्कन गरेका थिए।
बैठकले २०औँ संस्करणका सकारात्मक पक्षलाई निरन्तरता दिँदै देखिएका कमी–कमजोरी सुधार गर्ने निष्कर्ष निकालेको छ। साथै उक्त संस्करण सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग पु¥याउने संघसंस्था र व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गरिएको छ। यस्तै बैठकले २१औँ संस्करणको तयारीमा जुट्ने निर्णय पनि गरेको छ।
यस्तै मञ्चले आयोजना गर्ने १६औँ श्रृंखलाको साप्ताहिक र मासिक दौड आगामी चैत २१ गते शनिबार पोखरा रङ्गशालामा सञ्चालन गर्ने जनाएको छ । सो अवसरमा ५ किलोमिटर दूरीमा छात्र–छात्रा, महिला–पुरुष खुल्ला तथा भेट्रान महिला–पुरुष समूहमा दौड प्रतियोगिता आयोजना गर्ने भएको मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जनाए ।
त्यसैगरी, संस्थाको २५औँ वार्षिक उत्सवको समापन समारोह भव्य रूपमा सम्पन्न गर्न आगामी वैशाख ८ गते पुनर्मिलन कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीको संयोजकत्वमा जगन गुरुङ, खेमबहादुर गुरुङ, यामबहादुर गुरुङ, बालकुमारी गुरुङ, अनिल सिंह र विष्णुमाया गुरुङ सदस्य रहने गरी व्यवस्थापन समिति गठन गरिएको छ ।
यसैगरी रजत महोत्सव समापनक समारोहमा राष्ट्रिय खेलकुद पुरस्कार वितरणका लागि संस्थापक अध्यक्ष खड्गबहादुर राना भाटको संयोजकत्वमा अशोक पालिखे, महेश गुरुङ, नारायण कार्की र हरिप्रसाद पराजुली सदस्य रहने गरी पुरस्कार छनोट समिति गठन गर्ने निर्णय भएको मञ्चले जनाएको छ ।

























