
सियोल, ७ माघ । दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ ।
सियोल केन्द्रीय जिल्ला अदालतका न्यायाधीश ली जिन–ग्वानले फैसला सुनाउँदै प्रतिवादीले ‘अन्त्यसम्म प्रधानमन्त्रीका रूपमा आफ्नो कर्तव्य र जिम्मेवारीलाई बेवास्ता गर्नुभएको ठहर’ गर्नुभयो ।
अदालतले अभियोजकले मागेको सजायभन्दा आठ वर्ष बढी कैद तोकेको हो । छयत्तर वर्षीय अनुभवी टेक्नोक्रेट हानलाई फैसला सुनाइएपछि तुरुन्तै जेलमा उपस्थित हुन आदेश दिइएको छ । न्यायाधीश लीका अनुसार तत्कालीन राष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा जारी गर्नुभएको मार्सल ल डिक्री ‘संवैधानिक व्यवस्थालाई बिगार्ने उद्देश्य’ का साथ ल्याइएको थियो र त्यसलाई विद्रोहसरह मान्नुपर्ने अवस्था देखिएको छ ।
युनको आश्चर्यजनक मार्सल ल घोषणापछि विपक्षी नेतृत्वको संसद्ले त्यसलाई भिटो गर्नुअघि राष्ट्रिय सभा र राष्ट्रिय निर्वाचन आयोगमा सशस्त्र सेना तैनाथ गरिएको थियो । यस घटनाक्रमपछि युनलाई अप्रिलमा संवैधानिक अदालतले महाभियोगमार्फत पदबाट हटाएको थियो र दुई महिनापछि उपचुनाव प्रक्रिया सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























