
काठमाडौँ, २९ असोज । विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउने उद्देश्यसहित विज्ञापन बोर्डले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ। बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पेस गर्नुभएको प्रतिवेदनमा ‘डिजिटल’ विज्ञापनको नियमन, सरकारी विज्ञापनको एकद्वार प्रणालीबाट व्यवस्थापन र विज्ञापनसम्बन्धी कानुन सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ।
प्रतिवेदनअनुसार मन्त्रिपरिषद्बाट २०८३ असार १८ गते स्वीकृत ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ लाई मूल मार्गदर्शन बनाएर विज्ञापन बजारको नियमनलाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको छ।
मुख्य विशेषता तथा योजनाहरू:
-
डिजिटल र सामाजिक सञ्जालको निगरानी: कृत्रिम बौद्धिकता (AI), डिपफेक, र इन्फ्लुएन्सर मार्केटिङबाट हुने भ्रमपूर्ण विज्ञापन नियन्त्रण गर्न प्राविधिक प्रणाली र संस्थागत क्षमता विकास गरिनेछ। विशेषगरी स्वास्थ्यसम्बन्धी आधारहीन दाबी, वैदेशिक रोजगारीका प्रलोभन, र सट्टेबाजी/क्रिप्टोकरेन्सीसम्बन्धी विज्ञापनमाथि कूटनीतिक तथा प्राविधिक निगरानी बढाइनेछ। हालसम्म यस्ता अनधिकृत विज्ञापन गर्ने १५ वटा सामाजिक सञ्जाल अकाउन्ट बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ।
-
सरकारी विज्ञापनको एकद्वार प्रणाली: सरकार र यसका निकायबाट प्रकाशन/प्रसारण हुने लोककल्याणकारी तथा अन्य विज्ञापनहरू अब एकद्वार प्रणालीमार्फत व्यवस्थापन गरिनेछ। यसले भुक्तानी प्रक्रियालाई पारदर्शी र समानुपातिक बनाउने अपेक्षा गरिएको छ।
-
कानूनी सुधार र विज्ञापन प्रतिष्ठान: ‘विज्ञापन (नियमन गर्ने) ऐन, २०७६’ लगायतका कानुनहरू समयसापेक्ष संशोधन गरिनेछन्। साथै, विज्ञापन क्षेत्रको अध्ययन र दक्ष जनशक्ति उत्पादनका लागि ‘विज्ञापन प्रतिष्ठान’ स्थापनाको प्रस्तावसमेत अघि बढाइएको छ।
-
पूर्ण डिजिटल सेवा प्रवाह: बोर्डले आफ्नो आन्तरिक प्रशासन तथा अनुगमन प्रणालीलाई पूर्ण रूपमा प्रविधिमैत्री (GIOMS प्रणाली) बनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा १९७ अनलाइन, २० रेडियो, ८ टेलिभिजन र ९२ विज्ञापन एजेन्सीहरू नयाँ सूचीकरण भएका छन्।
-
शून्य बेरुजु: आर्थिक पारदर्शितालाई प्राथमिकता दिएको बोर्डको हाल फछ्र्योट हुन बाँकी बेरुजु शून्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
मुख्य चुनौतीहरू:
बजारको विस्तारसँगै अन्तरराष्ट्रिय डिजिटल प्लेटफर्म, प्राविधिक जनसम्पर्कको कमी, र आचारसंहिताको पूर्ण पालना नहुनु मुख्य चुनौतीका रूपमा औँल्याइएको छ। बोर्डले आगामी दिनमा यी चुनौतीहरूको सामना गर्दै विज्ञापन बजारलाई थप स्वच्छ, मर्यादित र उत्तरदायी बनाउने अङ्गीकार गरेको छ।






















