
नारायण शर्मा/नवलपरासी, ६ वैशाख । महेन्द्रराजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक निर्माणको अन्तिम चरणमा छ । शुक्रवारसम्म राजमार्ग निर्माणको काम ८१ प्रतिशत सकिएको छ ।
यो देशकै लामो, फराकिलो र नयाँ सडक हो । समथर स्थानको राजमार्ग निर्माणको काम लगभग सकिएको छ । निर्माण सकिएको स्थानमा यो राजमार्गमा कति स्पिडमा गाडि हुइक्याउन पाइन्छ भन्ने कौतुहलता सबै चालकमा हुनु स्वभाविक हो ।
यो सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार यो राजमार्गको सिधा स्थानमा स्पिड लिमिट प्रति घण्टा ८० हुने छ । त्यसैगरि बजार क्षेत्र र राजमार्ग वारपार गर्ने (क्रसिंग) स्थान रहेको ठाउँमा प्रतिघण्टा ६० को गतिमा गाडि हुइक्याउन पाइने छ ।
दुम्कीवास र बर्दघाट बिचमा पर्ने करिब १४ किलोमिटर खण्ड पर्ने दाउन्नेको उकालोमा भने ४० को गतिमा गाडि कुदाउन पाइने छ । राजमार्गको दुबै किनारमा पहेलो र बिचभागमा सेता चिन्ह (धर्सा) कोर्ने काम धमाधम भैरहेको छ । प्रति घण्टा ८०, ६० र ४० को स्पिडमा गाडि चलाउन पाइने संकेत चिन्ह ठाउँठाउँमा राख्न शुरु भएको छ । यस्ले राजमार्गमा लेन अनुशाशन पालना गर्न सघाउने छ ।
त्यो भन्दा बढि गतिमा गाडि हुइक्याउने चालकलाई स्पिड गन (राजमार्गमा गाडिको गति मापन यन्त्र) लिएर बसेका ट्राफिक प्रहरीले ठाउँकाठाउँ जरिवाना तिराउने ब्यबस्था छ । राजमार्गको स्पिड किटान भैसकेका संकेत चिन्ह राखिएपछि प्रहरीले स्पिड गन राखेर चालकको निगरानी बढाउने जिल्ला ट्राफिक प्रहरी कुशल बर्तौलाले जानकारी दिए । राजमार्गका आवस्यक पर्ने स्थानमा ट्राफिक संकेत चिन्ह राखेर लेन अनुशाशन पालना गराउन ट्राफिक प्रहरीले ध्यान दिने उनले सुनाए । ६ लेन सम्मको यो राजमार्गमा लेन अनुशासन पालना गर्ने, गराउने काम चुनौतीपूर्ण छ ।
मुख्य बजारमा ६ लेन, अन्यत्र ४ लेन र दाउन्नेमा ३ लेनको सडक निर्माण भैरहेको छ । दाउन्नेको उकालो र पानी रसाउने स्थानमा ढलान सडक निर्माणको काम अन्तिम चरणमा छ । दाउन्ने पहाडमा बैशाख मसान्तसम्म एक तर्फि राजमार्ग सूचारु गर्नेगरि काम भैरहेको आयोजना निर्देशक ढकालले जानकारी दिए । निर्माण सकिएको स्थानको भूईमा मार्किंग गरेर ( सेतो , पहेलो सडक संकेत चिन्ह) चिरिच्याट्ट पारिएको छ ।
बुटवल नारायणगढ सडक अन्तरगत पूर्वी खण्डमा पर्ने गैडाकोटदेखि दुम्कीवास सम्मको ६१ किलोमिटर सडक निर्माणको काम लगभग सकिएको छ । दाउन्नेको करिब १४ किलोमिटर सडकमा कालोपत्रे र ढलान सडकको काम भैरहेको छ । त्यस्तै बर्दघाटदेखि पश्चिम बुटवल सम्मको सडक निर्माणको अधिकांस काम सकिएको छ । राजमार्गको दुबै किनारमा डिभाइडर राख्ने काम भैरहेको छ ।
प्रति घण्टा ८० को स्पिडमा गाडि कुदाउदा नारायणगढदेखि बुटवलसम्मको १ सय १४ किलोमिटर सडक पार गर्न करिब २ घण्टा समय लाग्ने अनुमान छ । बुटवल नारायणगढ सडक निर्माण गर्ने जिम्मेवारी चिनिया ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशनले पाएको हो । यो राजमार्ग निर्माण गर्न यो ठेकेदार कम्पनीले १७ अर्बमा ठेक्का लिएको हो ।
राजमार्गको मुख्य ८ वटा बजार र गैंडाकोटको थुम्सी क्षेत्रमा सिसिटिभि क्यामरा जडान गरिने छ । बन्यजन्तु वारपार हुने स्थानमा समेत सिसिटिभि राख्ने तैयारी भैरहेको आयोजना निर्देशक ढकालले जानकारी दिएका पत्रकार नारायण शर्माले बताए ।

























