खेलाडीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ–अध्यक्ष लाथिफ


सबिन रेग्मी ,पोखरा १ माघ ।

सेन्ट्रल एसिया भलिबल संघ (काभा) का अध्यक्ष मोहमद लाथिफले खेलाडीहरुलाई राज्यस्तरबाट साथ र सहयोग हुनुपर्ने बताएका छन् । नेपाल भलिबल संघ र टाइगर गु्रप अफ पोखराको निमन्त्रणामा नेपाल आएका लाथिफले शनिबार पोखरामा आयोजित साक्षात्कारमा बोल्दै राज्यको साथ र पर्याप्त भौतिक पूर्वाधार भएमात्र खेलाडीहरुले राष्ट्रकालागि खेल्न सक्ने बताए ।

सरकारले भलिबल खेलाडीहरुका लागि मासिक तलबका साथै अन्य सुविधा प्रदान गर्न सके खेलाडीहरुको मनोवल बढने र उनिहरुले खेलमा अझ राम्रो प्रदर्शन गर्न सक्ने उनको भनाइ थियो । उनले नेपाल भलिबल संघलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । फरक प्रसंङ्गमा अध्यक्ष लाथिफले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताए । उनले पोखराको प्राकृतिक सुन्दरताको पनि खुलेर प्रशंसा गरे ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले भलिबल नेपालको निकै लोकप्रिय खेल भएको बताउदै यसको अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । उनले सेन्ट्रल एसिया भलिबल संघका अध्यक्ष लाथिफको नेपाल भ्रमणले नेपाली भलिबल खेलको विकासले अझ थप उचाइ लिनेमा पनि विश्वास व्यक्त गरे । महासचिव चन्दले नेपाली भलिबलको विकासका लागि सरकारी स्तरबाट कुनै पनि सहयोग नपाएको समेत गुनासो गरे।

त्यस्तै नेपाल भलिबल संघका सल्लाहकार एवं टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले विषम परिस्थितिका बावजुत पनि प्रतियोगिता आयोजना गरिएको र त्यो सफल भएको बताए । उनले लाथिफको भ्रमणले समग्र नेपाली भलिबल खेलप्रेमीहरुलाई हर्षित तुल्याएको उल्लेख गरे ।


नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले आफूहरु सदैव भलिबलको वृत्ति विकाशमा लाग्ने बताए । सो अवसरमा (काभा) का अध्यक्ष लाथिफले संघका सल्लाहकार नारायणप्रसाद शर्मालाई खेल सामग्री समेत हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, सदस्य केशव पाठक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...