आहा ! रारा गोल्डकपमा १० टिमको सहभागिता


सबिन रेग्मी ,पोखरा २६ पुस
आगामी माघमा आयोजना हुने बहुप्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करणमा एक विदेशी सहित १० टिमको सहभागिता रहने भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा माघ ६ देखि १५ गते सम्म आयोजना हुने प्रतियोगितामा संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङमस्र्याङदी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, आयोजक सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी कुल १० टिमको सहभागिता रहने आयोजक सहारा क्लबले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले कोभिडका कारण विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रशासन संगको समन्वयमा प्रतियोगितालाई तिव्रता दिइएको बताए ।

क्लबका अध्यक्ष हरीराम गुरुङ ‘सुरज’ ले १६ हजार ५ सय सिट क्षमता भएको रंंगशालामा सामाजिक दुरी कायम गरी थोरै दर्शकको उपस्थितिमा भएपनि प्रतियोगिता आयोजना गरिने बताए । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङले सहारा क्लब धेरै नागरिकहरुका लागि सहारा बन्न सफल भएको भन्दै प्रतियोगिताको पूर्ण सफलताको कामना गरे ।

हिमश्री फुड्सका प्रवन्ध निर्देशक किरण केसीले क्लब र एकेडेमीका लागि सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्ना बुबाको दोहान्तपछि पनि सहयोगलाई निरन्तरता दिइएको र आफू पछिका पुस्तामा समेत यसलाई हस्तान्तरण गरिने बताए ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटर, अफिसियल बैंंकका रुपमा लुम्बिनी बैंक रहेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा क्लब हङ्गकङ्ग, र सहारा क्लब अष्टे«लियाको सहयोग तथा पोखरा महानगरपालिकाको संयोजनमा प्रतियोगिता आयोजना हुँदै आइरहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड ६ लाख ४८ हजार ५ सय खर्च र १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी हुने क्लबको अनुमान रहेको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट सञ्चालित सूर्यबहादुृर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

प्रतियोगिता अवधिभर बन्द तथा हडताल नगर्नपनि आयोजकले आग्रह गरेको छ । एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । पोखरा–१७ दोबिल्लामा रहेको एकेडेमीमा २०६१ सालदेखि उनिहरुलाई क्लबले आवासीय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण प्रदान गर्दै आइरहेको छ । गतबर्षको उपाधि संकटा क्लबले जितेको थियो भने अफ्रिकन रुट एसोसिएसन डाउल्ला क्यामरुन उपविजेता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...