नेकपा एमाले कास्कीको १० औं जिल्ला अधिवेशन शुक्रबार


नारायण क्षेत्री पोखरा २१ पुस

नेकपा एमाले कास्कीको १० औं जिल्ला अधिवेशन शुक्रबार हुने भएको छ । ७७ वटै जिल्लामा एकैदिन अधिवेशन सम्पन्न गर्ने केन्द्रीय कमिटिको निणर्य अनुसार शुक्रबार अधिवेशन हुन लागेको हो ।
अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० वटा उपसमिति समेत गठन गरिएको छ । कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङलाई प्रतिवेदन तयारी उपसमिति, राजनीतिक प्रतिवेदन, प्रतिनिधि व्यवस्थापन र आर्थिक व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

त्यस्तै दामोदर बैरागीलाई सांगठनिक, आरपी शर्भालाई आर्थिक, प्रभा कोइरालालाई अतिथि सत्कार, बैनबहादुर क्षेत्रीलाई भोजन व्यवस्थापन, युवराज पौडेललाई मञ्च, दर्शन लामालाई स्वयंसेवक, मोहन सुनारलाई स्वास्थ्य र मनकुमार श्रेष्ठलाई सांस्कृतिक उपसमितिको जिम्मेवारी दिइएको प्रचारप्रसार उपसमितिका संयोजक तेजनारायण अधिकारीले जानकारी दिए ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङले कास्कीमा कुनै गुट उपगुट नरहेको दाबी गर्दै सके सर्वसम्मत नभए लोकतान्त्रिक विधिमार्फत आन्तरिक प्रतिस्पर्धाबाट नै नेतृत्व चयन गरिने बताए ।

पुस २३ गते पोखरा सभागृहमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन गर्नेछन् । गत असोज ६ र ९ गते एमालेले पालिका, इलाका तथा वडा तहमा अधिवेशन सम्पन्न गरिसकेको छ भने पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मंसिर १४ गते चितवनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...