२३ औं पोखरा ‘सडक महोत्सव’ सुरु,अब चौबिसै घण्टा रेष्टुरेण्ट खोलिनु पर्छ :गृहमन्त्री खाँड



नारायण क्षेत्री / सबिन रेग्मी पोखरा १५ पुस
रेष्टुरेण्ट एण्ड वार एसोसिएसन (रेवान) पोखराको आयोजनामा बिहिबारदेखि पोखरामा २३ औं पोखरा ‘सडक महोत्सव’ सुरु भएको छ । महोत्सवको गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै गृहमन्त्री खाँडले सडक महोत्सवले पोखराको पर्यटन क्षेत्रलाई गतिशिल बनाएको बताए ।

देशभरका होटल रेष्टुरेण्ट चौबिसै घण्टा खुल्ला गर्नुपर्ने पक्षमा आफू रहेको बताउँदै उनले त्यसको थालनी पोखराबाट नै हुनुपर्ने बताए । व्यवसायी र मजदुरमाथि त्रास भन्दा पनि सहज रुपमा व्यवसाय गर्न पाउनुपर्ने वातावरणको सिर्जना गर्न पनि उनले प्रहरी प्रशासनलाई निर्देशन दिए ।

उनले पोखराको सुन्दरताका लागि फेवाताल लगायत अन्य ताल तलैयाहरुको संरक्षणमा सरकार प्रतिवद्ध रहेको बताए । फरक प्रसंगमा गृहमन्त्री खाँडले लामो समयदेखि सदन अवरुद्ध हुँदै आएको उल्लेख गर्दै तत्काल सदन सुचारु गरी जिम्मेवार बन्न सबै राजनीतिक दलहरुलाई आग्रह गरे।
गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न मन्त्रिपरिषद्बाट पास गरी त्यसलाई संघिय सरकारमा पठाउने तयारीमा रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, कानुनमन्त्री विन्दुकुमार थापा, पोखरा रेवानका अध्यक्ष लक्ष्मण बराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, रेवानका सल्लाहकार गणेशबहादुर भट्टराई, रेवानका केन्द्रीय उपाध्यक्ष संघर्ष विष्ट, रेवान उपाध्यक्ष एवं महोत्सव संयोेजक नरेश भट्टराई, महासचिव विकाश भट्टराई लगायतले बोलेका थिए ।


कार्यक्रममा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समूहलाई पुरस्कृत गरिएको थियो । तनहुँको धायरे सेवा समाज प्रथम, अन्नपूर्ण आमा समूह बैदाम दोस्रो र नवलपरासीको थारु समूह तेस्रो भए । उनिहरुले क्रमस ४०, ३० र २० हजार प्राप्त गरे । रेवानले अंग्रेजी नयाँ बर्षको अवसरमा हरेक बर्ष महोत्सवको आयोजना गर्दै आइरहेको छ । महोत्सव १७ गते सम्म चल्नेछ ।

लोकसाईडस्थित कोमागाने पार्कदेखि हल्लनचोक सम्मको ३ किलोमिटर क्षेत्रमा आयोजना गरिएको महोत्सवमा ३० भन्दा बढी हस्तकलाका स्टल रहेका छन् । सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ आयोजित महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शनी, विभिन्न झाँकी प्रदर्शनी, रात्रिकालिन कन्सर्ट, डुंगा दौड जस्ता प्रतियोगिता समावेश गरिएको महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...