नाटक लेखन कार्यशाला सम्पन्न


राजाराम पौडेल

पोखरा १२ पौष
पोखरामा आयोजित ११ दिने नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना तथा पोखरा थिएटरसँगको सहकार्यमा पौष १ गतेबाट सुरु भएको कार्यशालामा ८ जना प्रशिक्षार्थी सहभागी बनेका थिए । कार्यशालाको सहजीकरण निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले गर्नुभएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यशाला समापन समारोहमा बोल्दै कुलपति विखर्चीले गण्डकी प्रज्ञा प्रतिष्ठानले निरन्तर रुपमा यस्ता कार्यशालाको आयोजना गर्ने बताउनुभयो । समापन समारोहका प्रमुख अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आगामी दिनमा समेत प्रतिष्ठानले नाट्य क्षेत्रमा कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो।

अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले कार्यशालामा सहभागी प्रशिक्षार्थीको सिकाइ प्रतिको लगाव तारिफ योग्य रहेको बताउनुभयो । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक लेखन कार्यशाला वार्षिक रुपमा सञ्चालन गर्ने बताउनुभयो । यस्ता कार्यशालाले युवा नाटककार उत्पादन गर्न सघाउने उहाँको विश्वास छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले नाटक लेखन कार्यशालामा सहभागीको उत्साह तथा प्रशिक्षकको सहजिकरण गर्ने शैलीबाट प्रभावित भएको सुनाउनुभयो ।कार्यशालामा सहभागी रिता ज्ञवालीले कार्यशालाले नाटक लेख्ने जोश बढेको बताउनुभयो । नाटक लेख्ने प्रोसेसको बारेमा नयाँ ज्ञान थपिएकोले नाटक लेखनमा निखारता थपिने उहाँको विश्वास छ ।

अर्का सहभागी शरद भण्डारीले जीवनका सबै भन्दा प्रभावकारी कार्यशालाका रुपमा ११ दिने नाटक लेखन कार्यशाला रहेको बताउनुभयो । कार्यशाला मार्फत ज्ञानका कारण नियमित नाटक लेखनमा उर्जा थपिएको सुनाउनुभयो ।

कार्यशालामा सहभागी हुनेमा गुल्मीकी रिता ज्ञवाली, झापाकी गीता बुढाक्षेत्री, संखुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी, कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जिसी र रोशनी श्रेष्ठ रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


देशभरबाट आवेदन दिन मिल्ने गरी खुल्ला रुपमा आवेदन खुलाइएकोमा आवेदन दिने मध्येबाट ८ जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको कार्यशालाका संयोजक एवं गण्डकी प्रज्ञा प्रतिष्ठानका संगीत नाट्य तथा संस्कृति विभाग प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना भएको समापन समारोहमा स्वागत पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्ण प्रसाद भण्डारी र सञ्चालन गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...