पोखरामा गण्डकी लोकसंस्कृति र लोक जनजीवन गोष्ठी हुँदै


नारायण क्षेत्री पोखरा ७ पुस

पोखरामा यही पुस ९ र १० गते गण्डकी लोकसंस्कृति र लोक जनजीवन विषयक बिचार गोष्ठी आयोजना हुने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहकार्यमा पोखरा–१६ बाटुलेचौरस्थित धर्मराज थापा निवासमा दुई दिने बिचार गोष्ठी हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान नेपालका कुलपति गंगाप्रसाद उप्रेती, संस्कृतिविद् डा.जगमान गुरुङ, डा.देवी नेपाल र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले लोक संगीत र धर्मराज थापाले नेपाली लोक संस्कृतिमा पु¥याएको योगदानका बारेमा चर्चा परिचर्चा गर्ने प्रतिष्ठानका अध्यक्ष एवं स्वर्गीय थापाका जेठा छोरा मदनराज थापाले बताए ।

त्यस्तै प्रा.डा. कुशुमाकर न्यौपानेले लोक संस्कृतिबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा ठाडो भाकाका साथै कलाकारहरुले घाँटु नाच समेत प्रस्तुत गर्ने छन् । २०५२ सालमा स्थापित प्रतिष्ठानले विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

वि.सं. १९८१ साउन १ गते बाटुलेचौरमा जन्मिएका थापाको २०७१ साल असोज १८ गते निधन भएको थियो । २०१३ सालमा तत्कालिन राजा महेन्द्रले उनलाई ‘जनकवि केशरी’को उपाधि दिएका थिए । उनका हरियो डाडाँमाथि हलो जोत्ने साथी लगायतका दर्जनौं गीतहरु निकै चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...