दोहोरीगीत प्रतिष्ठान नेपालको साधारण सभा सम्पन्न

साधारण सभामा विभिन्न व्यक्ति सम्मानित

पौष ४ पोखरा

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ऐतिहासिक २१ औं वार्षिक साधारण सभा नवलपुरमा सम्पन्न भएको छ । प्रतिष्ठानको गठन २०५७ सालमा नवलपुरको अरुणखोलाको जनता माध्यामिक विद्यालयबाट भएको थियो । सबै कलाकारलाई प्रतिष्ठानको स्थापना स्थलको बारेमा जानकारी होस् भन्ने हेतुले साधारण सभा सोही स्थानमा गरिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीको भनाई छ ।

‘नयाँ कलाकारलाई प्रतिष्ठान स्थापना स्थलको बारेमा जानकारी थिएन, कसरी स्थापना भयो भन्ने पनि थाहा थिएन, सबै कलाकारलाई प्रतिष्ठानको स्थापना स्थल तथा कसरी स्थापना भयो भन्ने बारेमा जानकारी होस् भन्ने हेतुले साधारण सभा अरुणखोलामा गरिएको हो’ बिजीले भन्नुभयो ।

साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरियो । अग्रज लोकसंगीत श्रष्टा राष्ट्रिय सम्मानबाट सुदुर पश्चिमका देउडा गायक अग्रज श्रष्टा नरेन्द्रराज रेग्मी, सामाजिक सेवा रत्न राष्ट्रिय सम्मानबाट इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँणेल, लोक पत्रकारिता सम्मानबाट पोखराका पत्रकार राजाराम पौडेल, राष्ट्रिय श्रष्टा सम्मानबाट राम प्रसाद खनाल, लोकसंस्कृति विद्यावारिधि सम्मान तुलसी प्रभास सम्मानित हुनुभएको थियो । यसैगरी संस्थापक कार्यसमिति तथा संस्थापक संस्थापक सल्लाहकारलाई सम्मान गरिएको थियो । यसका अलावा प्रतिष्ठानको स्थापनामा सघाउने तथा २१ औं साधारण सभालाई भव्य बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

उहाँहरु सबैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर राना, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी लगायतले सम्मान गर्नुभएको थियो ।

सोही कार्यक्रममा संस्थापक अध्यक्ष अम्मर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्रि पंगेनी र वर्तमान अध्यक्ष रमेश बिजीलाई सम्मान गर्दै सांस्कृतिक झाकी सहित बजार परिक्रमा गराइएको थियो ।

सो कार्यक्रमको आर्कषणमा चर्चित कलाकारहरु खुमन अधिकारी, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, पुष्कल शर्मा, राम्जी खाँड, प्रकाश समुत, कुशल वेलवासे, शंकर बिसी, सम्झना लामिछाने, टिका जैसी, अञ्जली अधिकारी, रविना भण्डारी, रिना थापा लगायतको गीत तथा नृत्य प्रस्तुती रहेको थियो । उहाँहरुको प्रस्तुती हेर्दै उपस्थित दर्शक रमाए । प्रत्यक्ष रुपमा आफ्नै ठाउँमा एकैपटक धेरै चर्चित कलाकारलाई भेट्न पाउँदा दर्शक उत्साहित देखिन्थे ।

प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रिता थापाले स्वागत र महासचिव सुवास केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।साधारण सभामा प्रतिष्ठानका जिल्ला, प्रदेश, उपत्यका समन्यय समिति तथा विदेश स्थित समन्यव समितिबाट समेत प्रतिनिधिको सहभागीता रहेको थियो ।

दुई दिन सम्म चलेको साधारण सभाको उद्घाटन सत्र प्रतिष्ठानको स्थापना स्थल नवलपुर जिल्लाको अरुणखोला स्थित जनता माध्यमिक विद्यालय तथा बन्दसत्र अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा भएको हो । वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट प्रदेश शाखा मध्ये लुम्बिनी प्रदेश तथा उत्कृष्टजिल्ला शाखा मध्येबाट रुपन्देही जिल्ला शाखालाई पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...