पर्यटन व्यवसायीको साथले पोखरालाई सुरक्षित गन्तब्य बनाउन सकिन्छ : प्रहरी नायव महानिरिक्षक लोहनी


पोखरा ४ मङ्सिर
गण्डकी प्रदेशका प्रहरी नायव महानिरिक्षक दिवेश लोहनीले पर्यटकीय नगरी पोखरालाई शान्ति सुरक्षा अमन चैनको प्रत्याभूत सहित सुरक्षित गन्तब्यको रुपमा चिनाउन पर्यटन व्यवसायीहरुको साथ र समन्वयको खाँचो रहेको बताउनुभएको छ ।

पोखरा पर्यटन परिषद र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा ‘पोखरामा पर्यटन व्यवसायमा सुरक्षा व्यवस्थापन विषयक अन्तरक्रियात्मक अनुशिक्षण’ कार्यक्रमको उद्घाटनमा लोहनीले व्यवसायीको साथ र सहयोग हुने हो भने कुनै पनि अपराध लुक्न नसक्ने र अपराधिक घटना न्यूनिकरण हुने बताउनुभएको हो ।

उहाँले पर्यटन व्यवसायिले होटलमा आउने पाहुनाको बास्तविक परिचय नलिने र एक जनाले बुकिङ्ग गरेपछि पाँच छ जना सहज बस्न दिने, सिसि क्यामेराको व्यवस्थापन नगर्ने जस्ता कतिपय कमजोरीले अपराधिक घटनाको अनुसन्धानमा चुनौती थपिएको बताउनुभयो । उहाँले घटना संख्यामा हेरेर विश्लेषण गर्न नहुने भन्दै कुनै एक घटनाले सम्पूर्ण शान्ति सुरक्षालाई नै खलल पार्ने भएकाले घटना हुनु अघिनै सावधानी अपनाउनु पर्ने उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादर भट्टराईले पर्यटन क्षेत्रले विभिन्न कठिनाइको सामना गर्नु परिरहेको जनाउँदै पर्यटकका लागि शान्ति सुरक्षा पहिलो शर्त भएको बताउनुभयो । पर्यटकले घुमफिर गर्दा सुरक्षित महसुस गर्न सके मात्र पर्यटकीय गतिविधि बढ्ने भएकाले सुरक्षालाई प्राथमिकतमा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

लेकसाइडका अधिकांश सोलार बत्तिहरु नबल्ने र साँझ परेपछि अन्धकार देखिने समस्या भएपछि व्यवसायीकै पहलमा १६ लाख खर्चेर बिजुली बत्तिको व्यवस्थापन गर्नु परेको स्पष्ट पार्नुभयो । सरकारले व्यवसायीको मर्का बुझेर प्रभावकारी नीति ल्याउन नसकेको जनाउँदै मौद्रिक नीतिको कार्यान्वयन नहुँदा व्यवसायीलाई निराश बनाएको धारणा राख्नुभयो ।

वडा नं ६ का वडा अध्यक्ष जगत पहारीले शान्ति सुरक्षा लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट अभाव रहेको र नीजि क्षेत्रको पहलमा पनि भइरहेका कार्य प्रशंसनीय रहेको बताउनुभयो । उहाँले रात्रीकालिन व्यवसायबाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्न रात्रिकालिन निर्देशिका बनेपनि त्यसको कार्यान्वयन हुन नसक्दा चुनौति थपिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापा शान्ति सुरक्षाको जिम्मा प्रहरीको मात्र भन्ने परम्परागत मानसिकता त्यागेर अपराध न्यूनिकरणा साझा धारणा सहित सबैको साथ सहयोग र समन्वयको खाँचो हुने बताउनुभयो ।
नागरिक बर्दी विनाका प्रहरी भएकाले सचेत नागरिकबाट समाजलाई हिंसा र अपराध रहित बनाउन सहयोग पुग्ने बताउनुभयो।

दुई दिन सम्म चल्ने सो अनुशिक्षण कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ र प्रहरी प्रमुखहरुबाट पर्यटन र सुरक्षा सम्बन्धि विषयमा प्रस्तुतिकरण रहने परिषदका महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा होटल, रेष्टुरेन्ड र डान्सबारका सञ्चालक एवम् कर्मचारीहरुसँगै पर्यटन क्षेत्रसँग अन्तरसम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...