नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशन पोखरामा

देशभरका झण्डै ४ हजार प्रतिनिधि भेला हुँदै

नारायण क्षेत्री पोखरा २८ मंसिर
नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशन पुस १ देखि ४ गते सम्म पोखरामा हुने भएको छ ।नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने महाधिवेशनमा नेपाल भरिका विभिन्न १ सय ६१ शाखाका शाखा अध्यक्ष र प्रतिनिधि गरी १ हजार ३ सय तथा अन्य पर्यवेक्षकहरु गरी झण्डै ४ हजारको सहभागिता रहने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशन निर्देशक सिनेटर ईश्वरप्रसाद कर्माचार्यले पोखराको पर्यटन क्षेत्रलाई माथि उकास्न महाधिवेशनले ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गरे । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनको दोस्रो दिन प्रतिनिधिहरुलाई पोखराका विभिन्न पर्यटकीय क्षेत्रको दृश्यावलोकन, तालिम सिनेटर बैठक तथा दोस्रो साधारणसभा अन्तर्गत २०२२ का राष्ट्रिय अध्यक्ष लगायत पदाधिकारीहरुको उम्मेदवारी प्रतिवद्धता (ककस) कार्यक्रमको तालिका रहेको छ । त्यस्तै तेस्रो दिन साधारणसभाबाट ५० औं राष्ट्रिय सम्मेलनको आतिथ्यता शाखाको निर्धारणको कार्यतालिका रहेको छ ।

जेसीजको विधान अनुसार महाधिवेशनबाट सन् २०२२ का लागि राष्ट्रिय अध्यक्ष १, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष ४ र १२ जना राष्ट्रिय उपाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनले ४८ औं घोषणापत्र समेत जारी गर्ने छ । महाधिवेशनमा सरकारले तोकेका स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिने पोखरा जेसीजका अध्यक्ष किरण केसीले जानकारी दिए ।

सन् १९१५ मा अमेरिकाको सेन्ट लुइसमा स्थानीय नाच संरक्षणका लागि स्थापित हर्कलेनिस डान्स क्लब परिमार्जित हुँदै जुनियर च्याम्बर इन्टरनेशनल (जेसीआई) का रुपमा स्थापित भएको थियो । नेपालमा भने डा. भेषबहादुर थापाको नेतृत्वमा सन् १९६४ र पोखरामा तत्कालिन जेसीआई सिनेटर केशवलाल श्रेष्ठको अध्यक्षतामा १९७५ मा स्थापना भएको थियो ।

सन् १९८४ र १९९२ मा गरी दुइपटक यसअघि नै पोखरा जेसीजले राष्ट्रिय महाधिवेशनको आतिथ्यता गरिसकेको छ । जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...