नागरिकले स्वास्थ्य, शिक्षा र रोजगार पाउनु पर्छ : मन्त्री गुरुङ

यूआरएल पत्रकारीता पुरस्कार पत्रकार वास्तोलालाई अर्पण

आरजू÷पोखरा, २३ मंसिर

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले आधारभूत नागरिकले स्वास्थ्य, शिक्षा र रोजगार पाउनु पर्नेमा जोड दिएकी छन् । यसका लागि नीजि क्षेत्र, सरकार तथा नागरिक समाज सबैको सहयोग आवश्यक भएको बताईन ।

यूआरएल पोखराको आठौं वार्षिक उत्सव तथा यूआरएल पत्रकारीता पुरस्कार अर्पण कार्यक्रमका आज प्रमुख अतिथि मन्त्री गुरुङले कारोना भाइरस विरुद्धको अभियानमा सबै एक भएर लागे जस्तै नागरिकको स्वास्थ्य अधिकारको रक्षा र निःशुल्क उपचारको लागि एक भएर लाग्नुपर्ने बताईन ।

हामीले कोभिडको समयमा जनस्तरबाट आईरहेका गुनासाहरुलाई पनि सुनेका छौं । स्वास्थ्य बीमाअन्तर्गत उपचारमा जानेहरुले अस्पतालहरुमा राम्रो व्यवहार नगरेकोमा आफ्नो ध्यानाकर्षण भएकोले यो अवस्थालाई आउन नदिन नीजि तथा सरकारी स्वास्थ्य निकायहरुलाई ध्यान दिन सुझाईन ।

गण्डकी प्रदेश सरकार सबै नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने अन्तिम चरणमा आएको जनाउँदै मंसिर महिनासम्म सबैको पहुँचमा खोप पुग्ने जानकारी दिईन । मन्त्री गुरुङले सरकारले स्वास्थ्य नीतिको ड्राफ्ट गरेकोले अबका दिनमा स्वास्थ्य क्षेत्रमा आउने धेरै समस्याहरुको समाधान हुने विश्वास व्यक्त गरिन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक डा.बुद्धि बहादुर थापाले आधुनकि सुविधा सम्पन्न अस्पतालहरु खुलेका भएपनि २४ घन्टा खटिएर सेवा दिईरहने सरकारी अस्पताल र स्वास्थ्यकर्मिहरु नै भएको बताए । उनले आफु नीजि अस्पतालसंग जोडिएको भएपनि रातको समयमा डाक्टर खोज्नुपर्ने अवस्था रहेको बताउँदै सरकारी अस्पतालमा त्यसो नभएको बताए । उनले अस्पतालमा सानो केहि त्रुटी भएको कुरा व्यापक प्रचारमा ल्याईने गरेको तर कसरी दुःखकासाथ काम गरिरहेका छन्, कति राम्रा राम्रा काम भएका छन् तिनको बारेमा सोधखोज नभएकोमा दुःख लागेको बताए । उनले भने, सबैभन्दा ठूलो कुरा विश्वास जितेर बिरामीको सेवा गर्नुपर्छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर भीम बहादुर गुरुङले देश संघीयतामा गएपनि,स्वास्थ्य क्षेत्रमा काम गर्दैगर्दा त्यस्तो पूर्ण अनुभूति नभएको बताए । हामीलाई अझैं पूर्वाधार पुगेको छैन । उनले भने, १४ सय, १५ सय विरामीले टिकट लिएर बसेका छन्, हामीसंग भएको जनशक्ति अपुग छ तर पनि काम भईरहेको बताए ।

अफिन गण्डकीका अध्यक्ष अशोक पालिखेले पोखरामा यूआरएलले ल्याव संचालन गरेर बिरामीको उपचारको लागि धेरै ठूलो गुण लगाएको बताए । उनले भने, नीजि वा सरकारी अस्पतालका डाक्टरको मुख्य उपचारको श्रोत भनेको ल्याव हो । कतिपय अवस्थामा बाहिर उपचार गर्न जाने, ल्याव टेष्ट गर्न जाने अवस्था कम भएको बताए ।

पालिखेले भने, पोखरामा बाहिरका बिरामीहरुलाई ल्याव टेष्ट वा उपचारका लागि आउने वातावरण बनाउन सक्षम छौं, तर सरकारले नीजि क्षेत्रका अस्पताललाई सुविधाबाट बञ्चित गरेको बताए । पोखरामा रहेका २३ वटा नीजि अस्पताले २३ सय बेडको उपचार सेवा दिईरहेको बताउँदै उनले भने, सरकारी अस्पतालको क्षमता ९ सय बेड छन्, १०० बेडभन्दा बढीको सुविधा नै छैन अनि यसरी पनि हुन्छ ? उनले प्रश्न गरे । पालिखेले नीति निर्माणको बेलामा नीजि क्षेत्रको सहभागिता नगराइनु दुखद् पक्ष भएको बताए ।

पाँचौ यूआरएल पत्रकारीता पुरस्कार वास्तोलालाई

समारोहमा तीन दशक बढी पत्रकारीता गरिसकेका पोखरामा पत्रकार हरिप्रसाद वास्तोलालाई पाँचौं संस्करणको यूआरएल पत्रकारीता पुरस्कारबाट सम्मान गरियो । प्रमुख अतिथि मन्त्री गुरुङले नगद २० हजार, सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरेकी हुन् ।

पुरस्कार प्राप्त गरेपछि पत्रकार वास्तोलाले जनताको सूचना पाउने हकको परिपूरणको लागि काम गरिरहने प्रतिवद्धता व्यक्त गरे । यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले २०७० साल मंसिर २३ गतेदेखि ल्याव संचालन गरेर नवौं वर्ष प्रवेशको यो क्षणमा आउने शक्ति सेवाग्राही र यहाँको संचार क्षेत्रबाट पाएको भन्दै आभार व्यक्त गरे ।

पन्तले अहिलेसम्म ४ लाख बढीलाई ल्याव परिक्षणको सेवा दिएको, १०६ वटा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको, शिविरमा ७२ हजारको परिक्षण गरिएको र ७०० बढी संघ संस्थाहरुसंग सहकार्य गरेर काम गरेको अनुभव सुनाए । त्यस अवसरमा उनले संस्था नाफामुखि भएता पनि आफ्नो उदेश्य पहिलो सेवा र नाफा दोश्रो दर्जामा रहेको बताए ।

आगामी दिनमा यूूआरएलले नयाँ नयाँ ल्याव परिक्षणका सेवाहरुको दायरालाई बढाउने पनि जानकारी दिए । अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले पत्रकारीता र स्वास्थ्य समस्या समाधान, पत्रकाररीता र पुरस्कृत पत्रकार वास्तोलाका बारेमा बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...