हरितालिका तीज : हराउँदै पुराना संस्कृति

रामपुर पाल्पा, २४ भदौ
कालीगण्डकीमा अहिलेजस्तो ठाउँठाउँमा पुल बनेका थिएनन् । कालीको भेल उर्लेर आउने अनि पानीको सतह घट्ला कि भनेर दिनभरजसो कुरेर बस्नुपर्ने हुन्थ्यो । यसो गर्दा रातै पथ्र्यो ।
बोटे दाईले डुङ्गा तार्न सक्दिन भनेपछि कति पटक त माइतीमा जान नपाएर घर फर्कनु परेको स्मरण रामपुरकी ६७ वर्षीया रुक्मीणा रेग्मीसँग ताजै छ । टाढाको माइतीघर, अहिलेजसो त्यसबेला तीजबाहेक अरु समय माइतीमा खासै जान पाइँदैनथ्यो । पाल्पा रामपुर घरबाट माइतीघर गल्याङ्ग नगरपालिकाको मालुङ्गा पुग्न रुक्मीणालाई छोराछोरी बोकेर बिहान सबेरै हिँड्नुपथ्र्यो ।

“छोराछोरी सानै, कोही पिठ्यूमा बोक्ने, कोही हातमा डो¥याउनुपथ्र्यो, मौसम राम्रो भएको खण्डमा बिहान हिँडेर साँभmपख मात्रै माइतीको आँगनीमा पुगिन्थ्यो, नत्र बाटोमै बास बसेर भोलिपल्ट कालीगण्डकीमा पानी घटेपछि डुङ्गा तरेर माइती गएका धेरै सम्झना  छन्” हिजोका दिन सम्झँदै उहाँले भन्नुभयो । विगतलाई उहाँले यसरी गीतमा पनि सम्झिनुहुन्छ– 

   ‘मुसलधारे पानी कपुरपुरे असिना, रुदैरुदै माइतीबाट आएँ बरिलै,
   घरमा आउँदा फेर्ने लुगा छैन, कोठामै बसेर रोएँ बरिलै ।’

   डुङ्गा तर्दै गर्दा कयौँ पटक त डुङ्गासँगै नदीको भेलमा बगेको उहाँसँग ताजा स्मरण छ । वर्ष दिनमा एक पटक त्यो पनि तीजका बेलामा मात्रै माइत जान मुस्किलले घरका सासु ससुरा, श्रीमान्बाट छुट्टी मिल्थ्यो । हिजोका ती दिनलाई स्मरण गर्दा अहिलेका पुस्तालाई अपत्यारिलो लाग्ने परेको उहाँ बताउनुहुन्छ ।

“गाउँ गाउँमा गाडी हिँड्ने सडक पुगेछ, दिनभर हिँडेर पुगिने माइतीघर एक÷दुई घण्टामै सरर गाडीमा पुगिन्छ, नमरी स्वर्ग देख्न पाइँदैन भन्ने उखान भए पनि अहिले त जिउँदै स्वर्गको अनुभव गर्न पाइएको छ”, उहाँ भन्नुहुन्छ, “बुढ्यौली पनि लाग्यो, पहिलेजस्तो जमाना पनि छैन, माइतीघर जान तीज नै कुर्न पर्दैन्, लिन जाने छोड्न जाने चलन पनि हरायो, हाम्रा चेली सरर गाडी चढेर आउन थाले” ।

भड्किलो बन्दै खानपान
हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायाममा धान रोपेर सकिएपछि तीजलाई भनी अनदी, झिनुवाको चामल, घ्यू पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्यूमा पकाएको खाजा, तामा, गाभा जस्ता परिकार बनाएर दरको रुपमा खाने चलन थियो ।

केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा थियो । तर हिजोआज भने माछा, मासु, खिरलगायत विभिन्न परिकार बनाएर दर खाने प्रचलन छ । राती अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार ब्रत बस्ने चलन छ । त्यही भएर पनि आडिलो रहन र चिसो सोस्नका निम्ति घ्यूमा चामललाई भुटेर बनाइएको दरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि दरखाने गरिन्थ्यो । 

   अहिले दरखाने निहुँमा पार्टी, प्यालेस, होटलमा महिला जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धा गर्नेहरुको लहर पनि देखिन्छ । पाल्पा रामपुरका विभिन्न होटल, पार्टी प्यालेसमा कोरोना महामारीलाई पनि वेवास्ता गरी दरखान जाने महिलाहरू यसपालि बढेको देखिएको थियो । हुने खानेले तीज आउनु महिना दिन अघिदेखि नै दर खाने परम्पराले देखासिकी  बढेको छ । दरखाने नाउँमा तडकभडक देखिन थालेको छ । हुनेले त रमाउँछन्, मनाउँछन् तर नहुनेका लागी चाडपर्वले सधैँ पिरोल्ने गर्छ । चाडबाडले परम्परालाई निरन्तरता दिने भन्दा पनि आधुनिकता भित्र्याउँदा महँगा बन्दै गएका छन्, यसले सर्वसाधारणलाई पिरोल्न थालेको छ । 

यसपालि कम चहलपहल
कोरोना महामारीले विगत र यसपालिको तीजमा शहरबजार केही सुनसान छ । कोरोनाले गर्दा महिलालाई लक्षित गरी विभिन्न संघसंस्थाको आयोजनामा हुने प्रतियोगितात्मक कार्यक्रम अहिले भएनन् । कार्यक्रममार्फत् आफ्नो पीडा, वेदना, घर माइतका दुःख सुखका कुरा तीज गीतमार्फत विरह पोख्ने महिलालाई कोरोना महामारीले नराम्रोसँग असर पारेको छ ।

तीज पर्वका बेला आयोजना गरिने विभिन्न प्रतियोगितात्मक कार्यक्रममा एक÷दुई महिना अघिदेखि नै नाचगान तयार पारी आफ्ना प्रस्तुति देखाइने माध्यम बनेको थियो । महामारीले गर्दा आफ्ना प्रतिभा पनि देखाउन नपाउने अवस्था आएको छ । 

यसैगरी गाउँघरमा नागपञ्चमी पर्व शुरु भएदेखि नै पालैपालो घर–घरमा झोरा लगाउने चलन थियो । अहिले भने यो चलन हटिसकेको छ । साँभmको कामधन्दा सकेर दुई तीन घण्टाको समय लालटिन बालेर वल्लाघर पल्लाघरमा गाउँभरीका स्थानीय जम्मा भएर तीजका झोरा गाउन जाने चलनले गाउँमा रमााइलो हुन्थ्यो । 

हिजोआज भने समयानुकूल प्रबिधिको विकास, घर–घरमा टिभी, इन्टरनेट, मोबाइल फोनको सुविधाले गर्दा झोरा लाउने चलन हराउन पुगेको छ । घरमै बसेर युट्युब तथा टिभीमा तीजका गीत हेर्ने परम्परा बसेको छ ।

नारी अधिकारका रुपमा तीज
हिन्दुहरुले मनाउने विभिन्न पर्वमध्ये महिलाहरुको महान् पर्वको रुपमा हरितालिका तीजलाई मनाउँदै आइएको छ । यो चाड महिलाको स्वतन्त्रताको पर्व पनि हो । नारीहरूले घरपरिवार, समाजबाट भोग्नु परेका पीडा र व्यथालाई अन्य कुनै पनि समयमा बोल्दा थप यातना भोग्नुपर्ने महिलालाई तीजका भाकामा गाएर साथी, इष्टमित्र बजारमा गाउँदा कसैले केही नभन्ने स्वतन्त्रता भएकाले यो पर्व महिलाहरूको महान् पर्वका रुपमा लिइएको शहीद बहुमुखी क्याम्पसका प्राध्यापक केशवती अधिकारी बताउनुहुन्छ ।

“हरितालिका तीज पर्व महिलालाई सशक्त बनाउन, परम्परा र संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने, घरायसी, सामाजिक, हिंसालाई बाहिर निकाल्ने अवसरका रुपमा लिइन्छ तर हिजोआज तीज गीतका नाममा विकृति पनि देखिएको हुँदा ती विकृति विसंगतिलाई हटाई महिलाका वेदना पोख्ने पर्वको रुपमा अगाडि बढाइनु पर्छ”, प्राध्यापक अधिकारीले भन्नुभयो । यो पर्व महिलाको अधिकारलाई माथि उठाउने पर्व रहेको उहाँको धारणा छ ।

हराउन थाले पुराना भाका
तीजका पुराना मौलिक भाकाहरु पछिल्लो समय हराउन थालेका छन् । समयको परिवर्तनसँगै गाउँघरमा पुराना तीजका भाकामा गाउने र नाच्ने चलन हट्दै गएको छ । महिलाहरूले घर–माइत गर्दाका बखत दुःख सुखका कुरालाई संगालेर तीजका बेलामा नाच्ने गाउने गर्थे ।

पहिलेका तीजका गीतमा महिलाको दुःख वेदनालाई दर्साइएको हुन्थ्यो भने अहिलेका केही गीतमा परिवर्तनका नाममा विकृति पनि भित्रन थालेको पाल्पा रामपुुरकी शिवकुमारी वाग्ले बताउँनुहुन्छ । “पहिलाका तीजका गीतले समाजका यथार्थ कुरालाई चित्रण गरेको हुन्थ्यो, गीत संगीतका लय भाका सुन्दा पनि मनलाई एक किसिमको आनन्दानुभूति हुन्छ, अहिलेका गीतमा पुरानो लयका गीतहरू खासै सुन्न पाइदैन”, उहाँले भन्नुभयो ।

कहाँमा जान्छौ रानीचरी बगला भगमानलाई भेटन ।
भगमान्लाई भेटन के के पाहुर चाहिन्छ ।।
एकुमा चाहिन्छ शिरीखण्ड चन्दन दोसरी बेलपत्र ।
बेलपत्र समाई दाहिने ब्रत गरी भगमान्लाई दर्शन ।।

  अहिले यस्ता गीतहरु कमै मात्र सुन्न पाइन्छ । अहिले बजारमा आएका केही तीज गीतमा समाज परिवर्तनका स्वर पनि सुनिन्छन् । पाकापुस्ताले पुराना गीत संगीतप्रति रुची जगाउँछन् तर गीत संगीतमा समयअनुसार परिवर्तन आउनुपर्ने युवापुस्ताको माग छ । 

वर्षेनी घर–माईतका दुःखका कुरा भन्दा पनि समयअनुसार गीतमा केही कुरा परिवर्तन हुनु स्वाभाविक हो तर पुराना गीतलाई पनि संरक्षण गरिनुपर्ने धेरैको आवाज छ । तीज गीत भनेको महिलाको मर्म र वेदना पोख्ने खालको हुनुपर्ने र तीजको नाममा समाजमा विकृति भित्र्याउने खालका गीत संगीत कलाकारले बजारमा ल्याउनु नहुने पार्वती न्यौपानको भनाइ छ ।

   तीज आयो जाउन बाबु दिदी लिनलाई ।
   खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।।
   हुन्छ अमा दिदी लिन जान्छु जान त ।
   कोसेली पो के लानी हो पर्छ लान त ।।

पहिला–पहिला गाउँमा सडक पुगेको थिएन, चेलीबेटी लिन माइती मावली नै पैदल हिँडेर जानुपर्ने बाध्यता थियो । सासु ससुरा, घरपरिवारको अपहेलना सहन महिला बाध्य थिए । हिजोआज भने गाउँ–गाउँमा सवारी साधन पुग्नु, महिला शिक्षित बन्नु, थिचोमिचो विरुद्ध सम्बन्धित निकायमा न्यायका लागी आवाज उठाउन सक्ने हुँदा पनि पछिल्ला समय तीजमा महिलाका दुःख वेदनाका गीतहरु कमै मात्रामा बजारमा आएका छन् ।

   “उडी आयो रानचरी बस्यो सेतो हिमालमा ।
   बुहारी भन्दा दाइजो प्यारो अहिले नेपालमा ।।
   मुखले त भन्छन् सबले हाम्लाई चाहिदैन ।
   साँच्चै दाइजो नलिने त कोही पाइदैन ।।”

पहिला–पहिला तीजमा मात्र माइती मावली जाने र त्यही बेला आफ्ना दुःख सुखका कुराहरु पोख्ने चलन थियो । तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । पछिल्लो समय बजारमा आएका केही तीजका गीतले तीजको मौलिकता र संस्कृतिलाई ध्यानमा नराखी ल्याएकामा आम नागरिकले टिकाटिप्पणी गर्न थालेका छन् ।

“कत्रो रहर थियो होला नाच्ने गाउने तीजमा कोरोनाले ‘कोल्याप्स’ हान्दियो बिच्च बिच्चमा । पोहोर परार नाच्यौँ दिदी रातो साडी उचाली यसपालीको तीज बरै ख्यास्स पुतली ।।”

तीज पर्वको चहलपहल शुरु भएपछि एकै ठाउँमा माइती भएका दिदीबहिनी एक दिनको बाटो हिँडेर माइती पुग्दा बाटोमा धेरै दुःख सुखका अनुभव आदानप्रदान गर्दै माइती घरमा पुग्दा छुट्टै आनन्दानुभूति हुने गरेको स्मरण पोख्नुहुन्छ, सीता सिग्देल । 

पछिल्लो समय भने घरमै सुख सुविधा हुन थालेपछि तीज पर्व नै पर्खेर माइती मावली जाने क्रम पनि पातलिँदै गएको उहाँ बताउनुहुन्छ । सूचना संचार प्रविधिको बढ्दो विकासले गाउँघरमा सबै जम्मा भएर साँझमा खाना खाएपछि गाउने र नाच्ने चलन हराउन पुगेको छ । घर–घरमा टेलिभिजन, रेडियो, इन्टरनेटको प्रयोगले गाउँघरमा तीजका बेला नाच्ने र गाउने चलन हराउन पुगेको कलाकार लक्ष्मी तिवारी बताउनुहुन्छ ।

   “पालैपालो सबका घरमा दिनदिनै गाउने नाच्ने गरिन्थ्यो, तीजको चहलपहल नागपञ्चमीदेखि नै हुन्थ्यो, अहिले त कोही पनि घरबाट बाहिर निस्कदैनन्, घरभित्रै बस्यो टिभी, मोबाइलमा तीजका गीत हे¥यो बस्यो”, उहाँले भन्नुभयो । “अहिले तीजका नाममा महिना दिन अघिदेखि दरखाने कार्यक्रम हुन्छन्, भिडियो बनायो नाच्यो त्यही हे¥यो बस्यो, युट्युबमा आइहाल्छ, यसले गर्दा पनि गाउँघरमा तीजका गीत गाउँने र नाच्ने चलन हरायो”, उहाँले थप्नुभयो ।

तीजको दिन बजारमा महिलाहरु जम्मा भएर गाउने र नाच्ने चलन पनि हराइसकेको छ । पहिलेजसो तीजको दिन ठूलो समूहमा बजारको एक खुल्ला ठाउँमा महिलाहरु गीत गाएर नाच्ने, जमघट हुने कार्य रामपुर क्षेत्रमा अहिले देख्न पाइँदैन । हुन त पछिल्लो समय बजारमा आएका सबै गीतले समाजमा विकृति नै ल्याउँछन् भन्ने छैन । पुराना गीतलाई संरक्षण गर्दै बदलिँदो समयानुसार समाजमा सकारात्मक सन्देश दिने खालका गीत संगीत पनि आएका छन् । गीत संगीतले समयअनुसार समाजका वास्तविक कथा व्यथा बोल्न सकुन् । समाजमा सकारात्मक सन्देश दिने खालका गीत संगीततर्फ कलाकारको ध्यान जान आम नागरिकको अनुरोध छ । 

पहिलेका तीज गीत सुन्दा महिलाका धेरै आवाज मात्रै सुनिन्थे । त्यतीबेलाका गीत संगीतले नारीका दुःख वेदनालाई उजार गरेको हुन्थ्यो । तर अहिले भने तीज गीतमा महिला र पुरुषको आवाज बराबरी जस्तै पाइन्छ । 

तीज पर्वको सांस्कृतिक महत्व
धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भइ महादेव पति पाएको दिनलाई हिन्दू नारीहरुले हरितालिका तीजका रुपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमान्का रुपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरेपनि १०८ औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायू एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।

तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । आयुर्वेदमा अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ भनिएको छ । 

पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको खाना र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।रासस 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...