गण्डकीसहित देशभर आजदेखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

अन्नपूर्ण संवाददाता
पोखरा, १६ असार
गण्डकी प्रदेशसहित देशभर बिहीबारदेखि शनिबार सम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक कमलराम जोशीले बिशीबारदेखि तीन दिन देशभर ठूलो पानी सम्भावना रहेकाले उच्च सावधानी अपनाउन आग्रह गरेका छन् ।
बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आउँदो तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका हुन् । उनले तराइका सबै जिल्ला र गण्डकी प्रदेशमा समेत ठूलो पानी पर्ने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए ।
महानिर्देशक जोशीले विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गरे । मनसुन सुरु भएदेखि विभागले एनसेल र एनटिसी सिमबाट अहिलेसम्म २० लाख एसएमएस गरिसकेको उनले बताए । बुधबार साँझ ६: ४५ बजे गरिएकाे रेकर्ड अनुसार विगत २४ घण्टामा १ सय ५३ दशमलव २ मिलिमिटर पानी परेकाे छ ।
२०७९ असार १६ गते (बिहिबार)
दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखा