कास्कीको रुपामा जग्गा चक्लाबन्दी सुरु, असार १५ मा रोपाइँ कार्यक्रम, ( फोटो फिचरसहित )
खेती गर्न ट्र्याक्टरको प्रयोग

माधव बराल
रुपा गापा, असार १५
कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ खाल्टेमा खेती गर्ने साँघुरा गरा । गोरुले जोत्न र रोपाइँ गर्न पनि समस्या । स—साना गरामा खानजोत गर्दा बढी दुख हुने हुदाँ किसान पनि दिक्क । अब भने त्यो समस्याबाट किसानले छुटकारा पाएका छन् । रुपा गाउँपालिकाको खाल्टेमा ट्र्याक्टर लगाएर रोपाइँ गर्न मिल्ने गरी जमीनलाई चक्लाबन्दी गरिएको छ ।
संघियतासँगै स्थानीय तह र प्रदेश सरकार बनेर कृषिमा यान्त्रिकीकरणलाई बढवा दिने कार्यक्रम ल्याएपछि उक्त ठाउँको ८५ रोपनी जमीनलाई चक्लाबन्दी गरी खेती गर्न सुरु गरिएको हो । स्थानीय बुद्धिबहादुर गुरुङको नेतृत्वमा चक्लाबन्दी गरिएको जग्गामा असार १५ को अवसरमा आज रोपाइँ कार्यक्रम भएको छ ।
पोल्याङटार टाकञ्जा कृषक समूहको आयोजना तथा सिद्ध एकीकृत कृषि तथा पशुपंक्षी फर्मको व्यवस्थापनमा भएको कार्यक्रममा पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य खगराज अधिकराीले धान रोपेर कार्यक्रम उद्घाटन गरे । उनले आफ्नो गाउँ आफै बनाउन कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । बजारबाट खाद्यान्न खरिद गरेर गाउँमा ल्याउन अब अन्त्य गर्नुपर्ने र गाउँबाट उत्पादित बस्तु बजार पु¥याउने गरी व्यावसायिक उत्पादनमा लाग्न किसानलाई आग्रह गरे ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जमीन चक्लाबन्दी गर्न गाउँपालिकाले सहयोग, समन्वय र सहजीकरण गरेको बताए । यो चक्लाबन्दी कास्की जिल्लाकै ठूलो भएको दाबी गर्दै ओझाले किसानलाई कृषि जन्य बस्तु उत्पादन गर्न र बजारको चिन्ता नलिन आग्रह गरे । उनले उत्पादित बस्तुको बिक्रीको जिम्मा गाउँपालिकाले लिने प्रतिवद्धता व्यक्त गरे । आगामी आर्थिक वर्षलाई रोजगार वर्षको रुपमा गाउँपालिकाले मनाउन लागेकोले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको भनाइ उनको छ ।
सिद्ध एकीकृत कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक बुद्धिबहादुर गुरुङले आफ्नो गाउँमा मेसिन प्रयोग गरेर खेती गर्ने सपना पूरा भएको बताए । ‘ यान्त्रिकीकरण गरेर खेती गर्ने चाहना थियो, त्यो आज पूरा भएको छ,‘ लामो समय काठमाडौंमा व्यवसाय गरेका उनले भने,‘गाउँकै जग्गामा केही गरौं भनेर जग्गा चक्काबन्दी गरेर खेती गर्न सरु गरेको हो, यसले गरे हुन्छ भन्ने सन्देश दिएको छ ।’जमीन चक्लाबन्दी गर्न प्रदेशको भूमि तथा कृषि मन्त्रालयले २० लाख सहयोग गरेको छ ।
गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा पोल्याङटार टाकञ्जा कृषक समूहका अध्यक्ष शिवप्रसाद ओझा र अजय खनालले जग्गाको बारेमा बोलेका थिए । कार्यक्रममा रोपाइँसँगै पुरुष र महिलाको हिले दौड आयोजना गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, वडाध्यक्षहरु लगायत स्थानीय किसानहरुको सहभागिता रहेको थियो । चक्लाबनदी गरिएको जग्गा ११ जनाको रहेको छ ।