
हङकङ, ३० असार । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ । अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ ।
चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७ प्रतिशत पुगेको हो । आयात पनि जुनमा ३६ प्रतिशतले बढेको छ । यो मे महिनाको २७.४ प्रतिशत वृद्धिभन्दा उच्च हो । विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढेको बताएका छन् ।
जुन महिनामा चीनले एक खर्ब २५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ । यो मे महिनाको एक खर्ब पाँच अर्ब ४० करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो । क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स–प्रिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमिकन्डक्टरको मूल्य बढ्नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनुभयो ।
उहाँका अनुसार त्यसबाहेक पनि चिनियाँ उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ । विशेषगरी विद्युतीय सवारीसाधन (इभी), सेमीकन्डक्टर, इलेक्ट्रोनिक उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । एआईको विस्तारसँगै विश्वभर सेमिकन्डक्टर र उच्च प्रविधियुक्त उपकरणको माग बढेपछि चीनका उद्योगहरूले त्यसको प्रत्यक्ष लाभ लिइरहेका छन् ।
निर्यात क्षेत्रको मजबुतीले लामो समयदेखि सुस्त रहेको चीनको रियल स्टेट, घरेलु उपभोग र लगानीमा आएको कमजोरीको प्रभाव केही हदसम्म कम गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ । भन्सार तथ्याङ्कअनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात वार्षिक आधारमा १७.६ प्रतिशत र आयात २६.६ प्रतिशतले बढेको छ ।



























